पौष १६, जनकपुरधाम :मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी तीव्र पारिएको छ। निर्वाचनलाई व्यवस्थापन गर्न जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
मधेश प्रदेश निर्वाचन कार्यालयकै भवनमा स्थापना गरिएको उक्त कार्यालयले प्रदेशभित्रका चार वटा सिटका लागि निर्वाचन गराउनेछ। निर्वाचन अधिकृत तथा जिल्ला अदालत धनुषाका न्यायाधीश सुभास बाबु पुरीका अनुसार निर्वाचनबाट महिला एक जना, दलित एक जना, अपाङ्ग भएका व्यक्ति वा अल्पसंख्यक समूहबाट एक जना र अन्य समूहबाट एक जना गरी चार जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुनेछन्।
प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका अनुसार मधेश प्रदेशमा प्रदेशसभाका १०७ जना सदस्य तथा १३६ वटा पालिकाका प्रमुख र उपप्रमुख गरी कुल २७२ जना मतदाता रहेका छन्। ती मतदाताको कुल मतभार १० हजार ३९ रहेको छ।
निर्वाचन आगामी माघ ११ गते धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको श्री महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा सञ्चालन हुनेछ। सो स्थलमा दुई वटा मतदान केन्द्र स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका प्रमुख रोमबहादुर महतले जानकारी दिनुभयो।
निर्वाचनका लागि मतदान समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ। निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलसहित जिल्ला सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको तयारी तीव्र, जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
शेयर गर्नुहोस
