काठमाडौँ : महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जालद्वारा महिला अधिकार सुनिश्चित गर्ने मागसहित बृहत र्यालि तथा कोणसभा २०८२ पौष १८ गते सम्पन्न भएको छ। माईतिघर मण्डलाबाट बानेश्वरचोकस्थित होटल एभरेष्टसम्म आयोजित र्यालि आगामी २०८२ फागुन २१ गते हुने निर्वाचनमा महिलाको अधिकार सुनिश्चित गर्न र समानुपातिक कोटामा वास्तविक महिलाको सार्थक सहभागिता हुनुपर्ने मागसहित आयोजना गरिएको थियो।
र्यालिमा सहभागीहरूले विभिन्न ब्यानर र प्लेकार्डसहित महिला अधिकार, समानुपातिक प्रतिनिधित्व र लैङ्गिक समानता सम्बन्धी सचेतनामूलक नाराहरू लगाएका थिए। र्यालिका क्रममा सहभागीहरूले “महिला अधिकार सुनिश्चित गर”, “महिला प्रति हुने विभेद बन्द गर”, “समानुपातिक निर्वाचन प्रणाली महिला मैत्री बनाऊ”, “नेताहरू खबरदार, जनता होसियार” जस्ता नाराहरू घन्काएका थिए।
बानेश्वरचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जाल नेपालकी अध्यक्ष स्याम कुमारी शाहले महिलाको वास्तविक प्रतिनिधित्व बिना लोकतन्त्र सुदृढ हुन नसक्ने बताउनुभयो। उहाँले समानुपातिक प्रणालीमा नाम मात्रको होइन, वास्तविक र योग्य महिलाको सहभागिता सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, गैरसरकारी संस्था महासंघका प्रतिनिधिहरूले पनि महिलामैत्री नीति, कानुनी व्यवस्था र व्यवहारिक कार्यान्वयन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। र्यालिमा गैसस महासंघ, साप नेपाल, युथ एडभोकेसी नेपाल, ओरेक लगायतका विभिन्न संघ–संस्थाहरूको पनि सहभागीता रहेको थियो।
महिला अधिकार सुनिश्चित गर्न राष्ट्रिय र्याली र कोणसभा सम्पन्न
शेयर गर्नुहोस
