रिलायन्स सुगर मिल्सको प्रदूषणले बाँगरी नदी र मानव बस्ती संकटमा, स्थानीय आक्रोशित

सखीखबर डट कम
पाठक संख्या - 251
पढ्न लाग्ने समाय 3 मि.

कलैया, बारा :बाराको मनहर्वा वार्ड न.५ श्रीपुर स्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रीजबाट निस्किने प्रदूषणका कारण मानव बस्ती, कृषि जमिन र जलस्रोत गम्भीर जोखिममा परेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। उद्योगले वातावरणीय मापदण्ड पालना नगरी तथा वार्षिक वातावरणीय परीक्षण (Environmental Audit) नगरिकन उखु क्रसिङ सुरु गरेको स्थानीयको आरोप छ।
उखु क्रसिङका क्रममा निस्कने कालो फोहर पानी सिधै बाँगरी नदीमा मिसिँदा नदीको पानी प्रयोग गर्नै नहुने अवस्थामा पुगेको स्थानीयवासी बताउँछन्। बाँगरी नदी कलैया–१७ ब्राह्मणपुरी, बन्जारिया, बेलहिया, गोइँठही, भलुही, मंगढवा, आकवनिया हुँदै त्रिवेणीमा दुधौरा नदीमा मिसिने महत्वपूर्ण जलस्रोत हो। यसअघि अत्यन्तै स्वच्छ रहेको उक्त नदीको पानी जीवजन्तु, पशुपंक्षी तथा गहुँबालीको सिँचाइका लागि प्रयोग हुने गरेको स्थानीयको भनाइ छ।
तर रिलायन्स सुगर मिल्स सञ्चालनमा आएपछि नदीको पानी कालो र दुर्गन्धित बन्दै गएको, खेतबारीमा पुगेको पानीले बालीनाली सुक्ने, माटोको उर्वराशक्ति घट्ने र कृषि उत्पादनमा भारी गिरावट आएको किसानहरूको गुनासो छ। नदीमा माछा तथा अन्य जलचर मर्न थालेपछि दीर्घकालीन वातावरणीय संकटको खतरा बढेको वातावरणविद्हरूले चेतावनी दिएका छन्।
त्यस्तै, उद्योग परिसरमा उखु पेल्दा निस्कने खोइ (बगास), माटो तथा अन्य ठोस फोहर खुला ठाउँमा थुपारिँदा वरपरका बस्तीमा दुर्गन्ध फैलिएको छ। झिँगा र लामखुट्टेको अत्यधिक प्रकोपका कारण छालारोग, श्वासप्रश्वाससम्बन्धी समस्या, दमका बिरामी तथा बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ।
श्रीपुर, मनहर्वा, झिटकैया, बजनी, अवधापुर तथा सशस्त्र प्रहरी बल १२ गण आसपासका बस्तीमा उद्योगबाट निस्कने मुसिलो धुवाँ, उखुको कणिका तथा चिनी प्रशोधनमा प्रयोग हुने चुन र गन्धकका कारण जनजीवन कष्टकर बनेको फेटा गा.पा.वार्ड न.१ को बिक्की कुश्वाहा ले बताए। “धुवाँले आँखा पोल्ने र सास फेर्न गाह्रो हुने समस्या छ, तर कसैले सुन्दैन,” उनले गुनासो गरे।
वातावरणविद्हरूका अनुसार उखु उद्योग सञ्चालनका लागि फोहर प्रशोधन केन्द्र (ETP) अनिवार्य भए पनि रिलायन्स सुगर मिल्सले त्यसलाई प्रभावकारी रूपमा सञ्चालन नगरेको देखिन्छ। स्थानीयवासीले उद्योग र प्रशासनबीच प्रदूषण नियन्त्रणसम्बन्धी समझदारी भए पनि अहिलेसम्म कुनै ठोस कदम नचालिएको आरोप लगाएका छन्।
यता उद्योगका वरिष्ठ प्रशासकीय अधिकृत रामनारायण यादवले प्रदूषण नियन्त्रणका लागि प्रयास भइरहेको दाबी गर्दै पूर्ण रूपमा समस्या समाधान गर्न नसकिएको स्वीकार गरेका छन्। “सरकारी मापदण्डअनुसार काम गरिरहेका छौँ, तर सबै प्रदूषण नियन्त्रण गर्न सकेका छैनौँ,” उनले भने। उद्योगबाट दुर्गन्ध नफैलिएको दाबी गरे पनि स्थानीयले त्यसलाई अस्वीकार गरेका छन्।
उद्योगका केन म्यानेजर अवध झाका अनुसार यस वर्ष करिब २५ देखि ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखिएको छ। पुस ३ गतेदेखि सुरु भएको क्रसिङ करिब चार महिना सञ्चालन हुने जनाइएको छ। तर सो अवधिभर हजारौँ नागरिक प्रदूषित वातावरणमा बस्न बाध्य हुने भन्दै स्थानीयले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
“के प्रकृतिभन्दा ठूलो पैसा हो? के एक जनाको व्यक्तिगत नाफाका लागि यति ठूलो बदमासी पनि नजरअन्दाज हुन्छ?” स्थानीयवासी प्रश्न गर्छन्। उनीहरूले तत्काल वातावरणीय परीक्षण गराउन, प्रभावकारी प्रदूषण नियन्त्रण प्लान्ट जडान गर्न र मापदण्ड उल्लङ्घन गर्ने उद्योगमाथि कडा कारबाही गर्न माग गरेका छन्। समयमै प्रभावकारी कदम नचालिए बाँगरी नदीसहित सम्पूर्ण क्षेत्र दीर्घकालीन स्वास्थ्य र वातावरणीय संकटको केन्द्र बन्न सक्ने चेतावनी दिइएको छ।

शेयर गर्नुहोस