तरकारी बालीमा रोगको जोखिम बढ्दो, कृषकलाई सतर्क रहन कृषि प्राविधिकको आग्रह

सखीखबर डट कम
पाठक संख्या - 222
पढ्न लाग्ने समाय 2 मि.

पौष २० कलैया :  मौसमको तीव्र उतार–चढावसँगै तरकारी बालीमा विभिन्न प्रकारका रोग देखिन थालेपछि कृषकलाई सतर्क रहन फेटा गाउँपालिकाका कृषि प्राविधिक सन्जय कुशवाहाले आग्रह गरेका छन्।
उनका अनुसार विशेषगरी आलु, गोलभेंडा, खुर्सानी, बन्दा र काउलीजस्ता प्रमुख तरकारी बालीमा ढिलो डढुवा, चाँडो डढुवा, ड्याम्पिङ अफ तथा जरा कुहिने रोगको जोखिम बढ्दै गएको छ। मध्य पहाडी तथा तराई क्षेत्रका आलु बालीमा ढिलो र चाँडो डढुवाको प्रकोप देखिन थालेको उनले जानकारी दिए।
रोग देखा परेमा म्यान्कोजेब ७५ प्रतिशत डब्ल्यूपी २–३ ग्राम प्रतिलिटर पानीमा घोलेर छर्कन वा मेटालेक्सिल र म्यान्कोजेब मिश्रित विषादी प्रयोग गर्न उनले सिफारिस गरेका छन्। साथै खेतमा पानी जम्न नदिनु, संक्रमित पात तथा डाँठ समयमै हटाएर नष्ट गर्नुपर्नेमा उनले जोड दिएका छन्।
त्यसैगरी तरकारी नर्सरीमा ड्याम्पिङ अफ तथा जरा कुहिने रोगको सम्भावना बढी रहने भएकाले नर्सरी व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने कृषि प्राविधिक कुशवाहाले बताए। रोगमुक्त माटोको प्रयोग गर्ने, बीउ छर्नुअघि कार्बेन्डाजिम वा थिरामले बीउ उपचार गर्ने तथा नर्सरीमा पानीको उचित निकासको व्यवस्था मिलाउनुपर्ने उनको सुझाव छ।
प्लास्टिक घर (टनेल) भित्र लगाइने तरकारी बालीमा सेतो झिँगा र लाहीजस्ता कीराको प्रकोप बढ्न सक्ने भएकाले हावा आवत–जावतको उचित व्यवस्था मिलाउनुपर्ने उनले बताए। आवश्यक परे सिफारिस गरिएको मात्रामा मात्र कीटनाशक प्रयोग गर्न, अत्यधिक विषादी प्रयोग नगर्न र नियमित अनुगमन गर्न पनि उनले कृषकलाई आग्रह गरेका छन्।
कृषि प्राविधिक कुशवाहाका अनुसार बाली चक्र अपनाउने, रोगी बिरुवा समयमै हटाउने र सन्तुलित मल व्यवस्थापन गर्ने हो भने रोगको प्रकोप उल्लेख्य रूपमा न्यूनिकरण गर्न सकिन्छ। कृषकले समयमै सिफारिसअनुसार व्यवस्थापन गरेमा तरकारी उत्पादन जोगाउन सकिने उनको भनाइ छ।

शेयर गर्नुहोस