वीरगन्ज : भोजपुरी टाईम्स दैनिकका कार्यकारी सम्पादक, श्रवण साह माथि वीरगन्जमा प्रदर्शनको दृश्य खिचिरहेको अवस्थामा प्रदर्शनकारी समूहले मोबाइल खोसेर आक्रमण गरेको घटना गम्भीर र निन्दनीय भएको भन्दै सञ्चारकर्मी तथा नागरिक समाजले कडा विरोध जनाएका छन्।
प्राप्त जानकारी अनुसार साहले सार्वजनिक प्रदर्शनको समाचार संकलनका क्रममा फोटो तथा भिडियो खिचिरहेका बेला केही प्रदर्शनकारीले उनलाई लक्षित गर्दै मोबाइल फोन खोसी कुटपिट गरेका थिए। घटनापछि स्थानीय सञ्चारकर्मीहरू आक्रोशित बनेका छन् र प्रेस स्वतन्त्रता माथि भएको यो आक्रमण लोकतान्त्रिक मूल्य–मान्यताविरुद्ध भएको बताएका छन्।
सञ्चारकर्मीमाथि भएको यस्तो आक्रमणले अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारितामाथि प्रत्यक्ष चुनौती दिएको सरोकारवालाहरूको भनाइ छ। उनीहरूले घटनामा संलग्न दोषीहरूलाई तत्काल पहिचान गरी कानुनअनुसार कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
यस घटनाप्रति विभिन्न पत्रकार संगठन, मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूले पनि गम्भीर ध्यानाकर्षण जनाउँदै पत्रकारको सुरक्षाको सुनिश्चितता गर्न सरकार र सुरक्षानिकायको ध्यानाकर्षण गराएका छन्। प्रेस स्वतन्त्रताको सम्मान गर्दै सञ्चारकर्मीलाई सुरक्षित वातावरणमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको उनीहरूको जोड छ।
वीरगन्जमा समाचार संकलनकै क्रममा सञ्चारकर्मीमाथि आक्रमण, कडा कारबाहीको माग
शेयर गर्नुहोस
