दिगो कृषि अभ्यासले नाइट्रोजन दुरुपयोग घटाउँदै जलवायु जोखिम न्यूनीकरण कृषि प्राबिधिकको भनाइ

सखीखबर डट कम
पाठक संख्या - 187
पढ्न लाग्ने समाय 2 मि.

पुष २३ , कलैया : रासायनिक नाइट्रोजन मलको अत्यधिक तथा असन्तुलित प्रयोगका कारण माटोको स्वास्थ्य कमजोर बन्दै गएको र जलवायु परिवर्तनको जोखिम बढ्दै गएको अवस्थामा दिगो कृषि अभ्यास नै समाधानको स्पष्ट बाटो भएको फेटा गाउँपालिकाका कृषि प्राविधिक सन्जय कुश्वाहाले बताएका छन्।
उनका अनुसार आवश्यकता भन्दा बढी प्रयोग गरिने नाइट्रोजन मलले माटोको उर्वराशक्ति घटाउनुका साथै नाइट्रस अक्साइड (N₂O) जस्तो शक्तिशाली हरितगृह ग्यासको उत्सर्जन बढाइरहेको छ। विश्वव्यापी तापक्रम वृद्धिमा उल्लेखनीय भूमिका खेल्ने यो ग्यासको नियन्त्रण नगरे कृषि क्षेत्र स्वयं जलवायु परिवर्तनको प्रत्यक्ष पीडित बन्ने खतरा बढ्दै गएको उनले चेतावनी दिए।
कुश्वाहाका अनुसार माटो परीक्षणका आधारमा मल प्रयोग, जैविक मलको उपयोग, दालहन बाली समावेश गरिएको बाली चक्र, हरियो मल, सूक्ष्म सिँचाइ प्रणाली तथा मल्चिङ खेतीजस्ता अभ्यासले नाइट्रोजनको उपयोग दक्षता उल्लेखनीय रूपमा वृद्धि गर्न सकिन्छ। यसले बालीलाई आवश्यक मात्रामा पोषक तत्त्व उपलब्ध गराउँदै अतिरिक्त नाइट्रोजन वातावरणमा फैलिन नदिने उनको भनाइ छ।
यस्ता दिगो अभ्यास अपनाउँदा उत्पादन लागत घट्ने, माटोको स्वास्थ्य सुधार हुने र बाली उत्पादनमा दीर्घकालीन स्थायित्व आउने अपेक्षा गरिएको छ। साथै, किसानको आम्दानी वृद्धि हुनुका साथै खडेरी, अत्यधिक वर्षा र तापक्रमको अनियमितताजस्ता जलवायु परिवर्तनका असरहरूसँग जुध्न कृषि प्रणाली सक्षम बन्ने उनले बताए।
सरकार, स्थानीय तह र किसानबीच सहकार्य गर्दै दिगो कृषि प्रविधि तथा अभ्यासलाई गाउँस्तरसम्म विस्तार गर्न सके कृषि क्षेत्रबाट हुने हरितगृह ग्यास उत्सर्जन घट्नुका साथै दीर्घकालीन खाद्य सुरक्षा सुनिश्चित गर्न सकिने सन्जय कुश्वाहाले बताए ।

शेयर गर्नुहोस