अमेरिकी आक्रमणमा भेनेजुएलामा १ सय जनाको मृत्यु भएको दाबी, एक हप्ता राष्ट्रिय शोक घोषणा

सखीखबर डट कम
पाठक संख्या - 279
पढ्न लाग्ने समाय 1 मि.

भेनेजुएलाका गृहमन्त्री डियोसडाडो काबेयोले अमेरिकी सैन्य आक्रमणका क्रममा कम्तीमा १ सय जनाको ज्यान गएको दाबी गर्नुभएको छ। राजधानी काराकसमा गएराति राज्य टेलिभिजनमार्फत सम्बोधन गर्दै गृहमन्त्री काबेयोले गएको शनिबार भएको अमेरिकी सैन्य कारबाहीमा ठूलो मानवीय क्षति भएको बताउनुभएको हो। रोयटर्सका अनुसार यसअघि भेनेजुएला सरकारले मृतकको आधिकारिक संख्या सार्वजनिक गरेको थिएन।
गृहमन्त्री काबेयोका अनुसार आक्रमणपछि राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकी सेनाले पक्राउ गरेको थियो। यसअघि सेनाले आफ्ना २३ जना सैनिकको ज्यान गएको नामावली भने सार्वजनिक गरिसकेको थियो। भेनेजुएलाली अधिकारीहरूका अनुसार राष्ट्रपति मदुरोको सुरक्षा टोलीका धेरै सदस्यहरू आक्रमणमा मारिएका छन्।
यसैबीच, क्यूबाले पनि भेनेजुएलामा कार्यरत आफ्ना सैन्य तथा गुप्तचर सेवाका सदस्यहरू आक्रमणमा मारिएको जनाएको छ। गृहमन्त्री काबेयोले आक्रमणका क्रममा पक्राउ परेकी राष्ट्रपति मदुरोकी पत्नी सिलिया फ्लोरेसको टाउकोमा चोट लागेको र राष्ट्रपति मदुरोको खुट्टामा चोट लागेको जानकारी दिनुभएको छ।
घटनापछि भेनेजुएला सरकारले आक्रमणमा मारिएका सैनिकहरूको सम्झनामा एक हप्ताको राष्ट्रिय शोक घोषणा गरेको छ। अमेरिकी आक्रमणपछि देशभित्र राजनीतिक अस्थिरता बढ्दै गएको छ भने अन्तर्राष्ट्रिय स्तरमा पनि यस घटनाले व्यापक चासो र विवाद सिर्जना गरेको छ।

शेयर गर्नुहोस