काठमाडौं : यस आर्थिक वर्षका लागि तयार गरिएको ‘वन डढेलो पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ को मस्यौदामाथि विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिबाट सुझाव र टिप्पणी संकलन गरिएको छ।
प्राधिकरणको सभाहलमा आयोजित एक बैठकमा विपद्सम्बद्ध मन्त्रालय तथा सहयोगी निकाय, सुरक्षा निकाय, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, विज्ञ तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले कार्ययोजनालाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव प्रस्तुत गरेका हुन्।
मस्यौदा कार्ययोजनामा वन डढेलो न्यूनीकरण तथा व्यवस्थापनका लागि अपनाइने रणनीति, प्राथमिकताका क्षेत्र, विभिन्न क्रियाकलाप र ती क्रियाकलापका लागि जिम्मेवार निकायहरूको व्यवस्था गरिएको छ। साथै, वन डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री तथा उपकरणहरूको सूची र बजेट व्यवस्थापनसम्बन्धी विषयहरू पनि समेटिएका छन्।
जल तथा मौसम विज्ञान विभागले यस वर्ष हिउँदमा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम बढ्ने प्रक्षेपण गरेको छ। यसका कारण सुक्खापन बढ्ने र वन डढेलोको जोखिम उच्च हुने अनुमान गरिएको छ।
गत आर्थिक वर्षमा देशभर वन डढेलोका ७५१ घटना रेकर्ड भएका थिए। ती घटनामा चार जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए। साथै, जंगलमा लागेको आगो बस्तीमा प्रवेश गर्दा ५८ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए।
यस्ता तथ्यांकलाई मध्यनजर गर्दै समयमै पूर्वतयारी र प्रभावकारी प्रतिकार्य योजना आवश्यक रहेको सरोकारवालाले जोड दिएका छन्।
वन डढेलो जोखिम न्यूनीकरणका लागि राष्ट्रिय कार्ययोजना २०८२ को मस्यौदामाथि सुझाव संकलन
शेयर गर्नुहोस
