पौष २७, काठमाडौं : निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि भरपर्दो सुरक्षा वातावरण सुनिश्चित गरिएको जनाएको छ। सुरक्षाकै कारण राजनीतिक दल र उम्मेदवारले जनतासँग मत माग्न नसक्ने वा मतदाताले मतदान गर्न असहज हुने अवस्था नआउने आयोगले स्पष्ट पारेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार एकीकृत सुरक्षा योजनाअनुसार चारवटै सुरक्षा निकाय समन्वयात्मक रूपमा परिचालित छन्। साथै नेपाल सरकारले आवश्यक स्रोत र साधन उपलब्ध गराइसकेको उहाँले जानकारी दिनुभयो।
“राजनीतिक दल, उम्मेदवार तथा पक्षधरहरूले निर्भयतापूर्वक जनता र मतदातासमक्ष आफ्ना विचार तथा प्रचार सामग्री लैजान सक्ने वातावरण छ,” प्रवक्ता भट्टराईले भन्नुभयो, “सुरक्षाकै कारण मतदातासमक्ष जान नसक्ने अवस्था छैन। सुरक्षा निकाय चनाखो भएर काम गरिरहेका छन् र सरकारले आवश्यक स्रोत–साधन उपलब्ध गराएकै छ।”
यसैबीच, आयोगले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूका लागि भोलि र पर्सि अभिमुखीकरण तालिम सञ्चालन गर्ने जनाएको छ। सातवटै प्रदेशअन्तर्गतका निर्वाचन अधिकृतहरूका लागि काठमाडौं, चितवन, विराटनगर र नेपालगञ्जमा तालिम आयोजना गरिने प्रवक्ता भट्टराईले बताउनुभयो।
तालिम सम्पन्न भएपछि निर्वाचन अधिकृतहरूले आउँदो माघ २ गतेदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरी काम सुरु गर्ने जनाइएको छ।
निर्वाचनमा भरपर्दो सुरक्षा व्यवस्था हुने निर्वाचन आयोगको आश्वासन
शेयर गर्नुहोस
