पातका लक्षणबाट बालीमा पोषक तत्वको कमी पहिचान गर्न सकिने कृषि प्राविधिकको सुझाव

सखीखबर डट कम
पाठक संख्या - 314
पढ्न लाग्ने समाय 2 मि.

कलैया, बारा , पौष २८   : बालीमा देखिने पातका विभिन्न लक्षणहरूबाट पोषक तत्वको कमी छिटो र प्रभावकारी रूपमा पहिचान गर्न सकिने भन्दै फेटा गाउँपालिकाका कृषि प्राविधिक सञ्जय कुश्वाहाले कृषकहरूलाई सचेत रहन आग्रह गर्नुभएको छ। उहाँका अनुसार पातमा देखिने परिवर्तनहरू बालीको स्वास्थ्य अवस्थाबारे सबैभन्दा भरपर्दो संकेत मानिन्छन्।
कृषि प्राविधिक कुश्वाहाका अनुसार पात पहेंलो हुनु, बैजनी वा रातो रङ देखिनु, नसाबीच पहेंलो देखिनु (इन्टरभेनल क्लोरोसिस), पातको किनार जल्नु, पात बाङ्गिनु तथा बोटको वृद्धि रोकिनुजस्ता लक्षणहरू बालीमा पोषक तत्वको कमीका प्रमुख संकेत हुन्।
विशेषज्ञहरूका अनुसार चलायमान पोषक तत्व—नाइट्रोजन, फस्फोरस र पोटासियमको कमी प्रायः पुराना पातहरूमा देखिन्छ भने अचल पोषक तत्व ,आइरन, जिंक र क्याल्सियमको कमी नयाँ पातहरूमा देखिने गर्दछ। यस आधारमा लक्षण पहिचान गरी समयमै सन्तुलित मल व्यवस्थापन गर्न सकिएमा बालीमा हुने क्षति न्यून गर्न सकिने कृषि प्राविधिक कुश्वाहाको भनाइ छ।
नाइट्रोजनको कमी हुँदा पुराना तल्ला पातहरू उल्टो ‘V’ आकारमा पहेंलो हुँदै जान्छन् र बोटको वृद्धि सुस्त हुन्छ। फस्फोरसको कमीमा पात गाढा हरियो वा बैजनी रङ देखिनुका साथै बोट होचो हुने समस्या देखा पर्छ। त्यसैगरी पोटासियमको कमी हुँदा पातको किनारबाट पहेंलो हुँदै खैरो वा कालो जलेको जस्तो लक्षण देखिन्छ।
कृषि प्राविधिकहरूका अनुसार आइरन (फलाम) को कमी हुँदा नयाँ पातमा नसाबीच पहेंलो देखिन्छ तर नसा भने हरियो नै रहन्छ। म्याग्नेसियमको कमी प्रायः पुराना पातमा नसाबीच दाग–दाग पहेंलो देखिने रूपमा प्रकट हुन्छ। क्याल्सियमको कमीले नयाँ पात बाङ्गिनुका साथै टुसा र जराको वृद्धि प्रभावित पार्छ भने जिंकको कमीमा पात सानो, साँघुरो र विकृत हुने समस्या देखिन्छ।
कृषि प्राविधिक कुश्वाहाले बालीमा देखिने यस्ता लक्षणलाई सामान्य रोग ठानेर बेवास्ता नगर्न आग्रह गर्दै समयमै माटो परीक्षण, सन्तुलित मल प्रयोग तथा आवश्यक सूक्ष्म पोषक तत्वको आपूर्ति गर्न सुझाव दिनुभएको छ। उहाँका अनुसार सही समयमा गरिएको पोषक तत्व व्यवस्थापनले उत्पादन वृद्धि मात्र होइन, बालीको गुणस्तर र माटोको दीर्घकालीन स्वास्थ्य सुधारमा समेत महत्वपूर्ण योगदानमा सहयोग पुर्‍याउँछ।

 

शेयर गर्नुहोस