रौतहटमा लागुऔषधसहित दुई जना पक्राउ

सखीखबर डट कम
पाठक संख्या - 261
पढ्न लाग्ने समाय 1 मि.

रौतहट, पौष ३० : रौतहटको परोहा नगरपालिकामा प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। सीमावर्ती क्षेत्रबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँचका क्रममा प्रतिबन्धित लागुऔषध फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
परोहा नगरपालिका–७ स्थित बसिर चोकमा सशस्त्र प्रहरी बलको विओपी सरमुजवा र प्रहरी चौकी मोतीपुर नरकटियाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेको बीआर ०५ बीएल ८८४६ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकलमा सवार बारा निजगढ नगरपालिका–७ निवासी ३० वर्षीय शिखरबहादुर पुलामी र भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्लाको घोडासहान कबैया–६ निवासी २९ वर्षीय गोलु भनिने नैतिक कुमारलाई पक्राउ गरिएको रौतहट प्रहरी प्रमुख एसपी रवीन कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार उनीहरूको साथबाट ट्रामोल–५० नामक प्रतिबन्धित क्याप्सुल १२६ पत्तामा राखिएको १ हजार २ सय ६० थान, तीन थान मोबाइल फोन, ३६ हजार रुपैयाँ नगद तथा प्रयोग गरिएको मोटरसाइकल बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा डिएसपी विष्णुप्रदीप वस्यालले पक्राउ परेकामाथि लागुऔषध ओसारपसार सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।

शेयर गर्नुहोस