निर्वाचन सामग्री ढुवानीका लागि १३ व्यवसायीक संस्था सूचीकृत

सखीखबर डट कम
पाठक संख्या - 244
पढ्न लाग्ने समाय 2 मि.

काठमाडौँ, माघ ३ : निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रसहित निर्वाचनका अत्यावश्यक सामग्री ढुवानी गर्नका लागि विभिन्न १३ वटा व्यवसायीक संस्थालाई सूचीकृत गरेको छ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगले सामग्री ढुवानीका लागि सेवा प्रदायक संस्थाहरू छनोट गरेको हो।
आयोगका अनुसार कुरियर सेवातर्फ दुई वटा फर्म छनोट भएका छन्। सूचीकृत हुनेमा साझा कुरियर एण्ड कार्गो र ट्रान्स एयर इन्टरनेशनल लजिष्टिक प्रालि रहेका छन्। यी फर्महरू निर्वाचन सामग्री, मतपत्र तथा अन्य आवश्यक सामग्री सुरक्षित र समयमै ढुवानी गर्न परिचालन गरिनेछ।
यस्तै, हेलिकोप्टर सेवातर्फ फर्म वा कम्पनीलाई सूचीकृत हुन आग्रह गरिएको भए पनि हालसम्म कुनै पनि फर्मले आवेदन दर्ता नगराएको आयोगले जनाएको छ।
ट्रक तथा कन्टेनर सेवातर्फ भने ११ वटा फर्म सूचीकृत भएका छन्। सूचीकृत हुने सेवा प्रदायकमा हिमालयन कार्गो लजिष्टिक, वासुकी ट्रान्सपोर्ट, चितवन रोडवेज क्यारियर, न्यू भैरव ट्रान्सपोर्ट, अदिति ट्रान्सपोर्ट, ओम ट्रान्सपोर्ट, हरहर महादेव ढुवानी सेवा, देउती बज्यै कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, कृष्ण ट्रान्सपोर्ट, धवलागिरि कालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्स तथा एयर मनकामना कुरियर एण्ड कार्गो प्रालि रहेका छन्।
आयोगले गत पुस १७ गते जारी गरेको सार्वजनिक सूचनाका आधारमा प्राप्त निवेदनहरूलाई तोकिएको मापदण्ड, शर्त तथा वार्षिक औसत कारोबारको आधारमा मूल्याङ्कन गरी ती सेवा प्रदायक संस्थालाई सूचीकृत गरिएको जनाएको छ। सूचीकृत संस्थाहरूलाई आवश्यकताअनुसार निर्वाचन सामग्री आपूर्तिका लागि परिचालन गरिने आयोगले स्पष्ट पारेको छ।

शेयर गर्नुहोस