८औँ नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पोको दोस्रो दिन उत्साहपूर्ण, १७ हजारभन्दा बढी अवलोकनकर्ता सहभागी

सखीखबर डट कम
पाठक संख्या - 300
पढ्न लाग्ने समाय 2 मि.

भरतपुर, चितवन : चितवनको भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा माघ २ गतेदेखि ४ गतेसम्म (जनवरी १६–१८, २०२६) आयोजना गरिएको ८औँ नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पोको दोस्रो दिन पनि उत्साहपूर्ण रूपमा सन्चालन भएको  छ।
दोस्रो दिनको कार्यक्रमअन्तर्गत कृषि, प्रविधि तथा स्वास्थ्यसम्बन्धी नवीन उत्पादन र सेवाहरूको व्यापक प्रदर्शन गरिएको थियो। आयोजकका अनुसार स्वदेशी तथा विदेशी कम्पनीहरू, कृषि उद्यमी, सहकारी प्रतिनिधि, प्राविधिक तथा विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको छ।
प्रदर्शनीमार्फत आधुनिक कृषि प्रविधि, कृषि यान्त्रिकीकरण, बीउ–बिजन, मल, पशुपालन, स्वास्थ्य उपकरण तथा सेवासम्बन्धी नवीनतम प्रविधि र जानकारीको आदान–प्रदान गरिएको थियो। सहभागीहरूले एक्स्पोले किसान तथा कृषि व्यवसायीलाई नयाँ प्रविधि र बजारसँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गरेको प्रतिक्रिया दिएका छन्।
कार्यक्रम अवलोकनका क्रममा बारा जिल्लाबाट जिन्नाद बाबा कृषि सहकारी संस्थाका प्रबन्धक श्रीलाल साह, बारादैनिक तथा साझा निगरानीका प्रकाशक मानिचन साह, जन चेतना खबरका सञ्चालक श्यामल गिरी तथा फेटा गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखाका कृषि प्राविधिक सन्जय कुश्वाहाको उपस्थिति रहेको थियो। अवलोकनका क्रममा बारा जिल्लाबाट सहभागी टिमलाई एग्रो टाइम्सले सम्मान तथा पुरस्कृत गरेको छ।
सहभागीहरूले अन्तर्राष्ट्रिय स्तरका यस्ता प्रदर्शनीहरूले किसान, सहकारी र कृषि व्यवसायीलाई आधुनिक प्रविधिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यसले कृषि क्षेत्रको व्यवसायीकरण, नवप्रवर्तन तथा दीगो विकासमा थप टेवा पुर्‍याउने अपेक्षा व्यक्त गरेका छन्।
आयोजकका अनुसार एक्स्पोको दोस्रो दिनसम्म मात्रै १७ हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहेको छ।

शेयर गर्नुहोस