माघ ८, नयाँ दिल्ली : नेपाल र भारतबीच निकासी गरिने वस्तु गन्तव्यमा पुग्नु अघि नै आवश्यक सूचना आदान–प्रदान गर्ने विषयमा समझदारी भएको छ। भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतको तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी) का अध्यक्ष विवेक चतुर्वेदीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो।
अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्रमुख व्यापारिक साझेदार देशहरूबीच जोखिम व्यवस्थापनमार्फत व्यापार सहजीकरण गर्न निकासी हुने वस्तुको तथ्याङ्क अग्रिम रूपमा आदान–प्रदान गर्ने व्यवस्था रहँदै आएको छ। सोही अभ्यासलाई आत्मसात् गर्दै नेपाल र भारतबीच निकासी हुने वस्तुको तथ्याङ्क अग्रिम रूपमा आदान–प्रदान गर्ने उद्देश्यले भारतको सीबीआईसी र नेपालको भन्सार विभागको सहकार्यमा समझदारीपत्रको मस्यौदा तयार गरिएको थियो।
मस्यौदामाथि सरोकारवालासँग छलफल गरी अन्तिम रूप दिइएको समझदारीपत्रलाई नेपाल सरकार (मन्त्रिपरिषद्) ले स्वीकृति प्रदान गर्दै भन्सार विभागका महानिर्देशकलाई हस्ताक्षर गर्ने अख्तियारी दिएको थियो।
समझदारीपत्रमा जोखिम विश्लेषणमार्फत भन्सार नियन्त्रण र व्यापार सहजीकरणलाई थप प्रभावकारी बनाउने, भन्सार प्रक्रियामा लाग्ने समय घटाई सुरक्षित अन्तर्राष्ट्रिय व्यापार सुनिश्चित गर्ने, राष्ट्रिय कानुनले तोकेको सीमाभित्र रही विद्युतीय माध्यमबाट निकासीसम्बन्धी तथ्याङ्क आदान–प्रदान गर्ने लगायतका विषय समेटिएका छन्। साथै, सूचनाको उपयोग समझदारीपत्रमा उल्लेखित उद्देश्यअनुसार मात्र गर्ने, कार्यान्वयनका लागि सम्पर्क अधिकारी तोक्ने र दुवै पक्षको सहमतिमा प्रारम्भमा तोकिएका वस्तुमा नमूनाका रूपमा लागू गरी क्रमशः सबै वस्तुमा विस्तार गर्ने व्यवस्था गरिएको छ।
यस समझदारीले नेपाल–भारतबीचको व्यापार प्रक्रिया सरल, छिटो र पारदर्शी बन्ने अपेक्षा गरिएको छ।
नेपाल–भारतबीच निकासी वस्तुको अग्रिम सूचना आदान–प्रदानसम्बन्धी समझदारी
शेयर गर्नुहोस
