अमेरिका औपचारिक रूपमा डब्लुएचओबाट बाहिरियो, विश्व स्वास्थ्य व्यवस्थापनमा गम्भीर चिन्ता

सखीखबर डट कम
पाठक संख्या - 218
पढ्न लाग्ने समाय 2 मि.

माघ ९, एजेन्सी :संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया पूरा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि घोषणा गरेको निर्णय अब कार्यान्वयनमा आएको हो, जससँगै अमेरिकाको ७८ वर्ष पुरानो डब्लुएचओ सदस्यता अन्त्य भएको छ।
सङ्घीय अधिकारीहरूका अनुसार फिर्ती प्रक्रिया सम्पन्न भए पनि अमेरिका र डब्लुएचओबीचका सबै विषयहरू अझै पूर्ण रूपमा टुंगिएका छैनन्। डब्लुएचओका अनुसार अमेरिकाले सन् २०२४ र २०२५ का सदस्य शुल्क नतिरेकाले १३ करोड अमेरिकी डलरभन्दा बढी रकम बक्यौता रहेको छ। तर ट्रम्प प्रशासनका अधिकारीहरूले सदस्यता फिर्ता लिँदै गर्दा उक्त रकम तिर्नुपर्ने कुनै कानुनी बाध्यता नरहेको दाबी गरेका छन्।
अर्कोतर्फ, स्वास्थ्य विज्ञहरूले यस निर्णयले अमेरिकाले डब्लुएचओमार्फत प्राप्त गर्दै आएको विश्वव्यापी रोग निगरानीसम्बन्धी महत्त्वपूर्ण तथ्याङ्क र सूचनामा पहुँच गुम्ने खतरा रहेको बताएका छन्। राष्ट्रपति ट्रम्पले कोभिड–१९ महामारीको व्यवस्थापनमा डब्लुएचओ असफल भएको, आवश्यक सुधार लागू गर्न नसकेको तथा सदस्य राष्ट्रहरूको राजनीतिक प्रभावबाट स्वतन्त्र रहन नसकेको आरोप लगाउँदै सङ्गठनबाट बाहिरिने कार्यकारी आदेश जारी गरेका थिए। उनका अनुसार महामारीका बेला मास्क प्रयोग र भाइरस हावाबाट फैलिने विषयमा डब्लुएचओले ढिलाइपूर्ण र गलत सल्लाह दिएको थियो।
सार्वजनिक स्वास्थ्य विज्ञहरूले अमेरिकी निर्णयले विश्वव्यापी रोग नियन्त्रण प्रयासमा गम्भीर असर पार्ने चेतावनी दिएका छन्। जर्जटाउन विश्वविद्यालयका स्वास्थ्य कानुन विशेषज्ञ लरेन्स गोस्टिनले यस निर्णयलाई दीर्घकालीन रूपमा अत्यन्तै हानिकारक बताउँदै यसले नयाँ महामारीको सामना, पोलियो उन्मूलन, मातृ तथा शिशु स्वास्थ्य कार्यक्रम, साथै खोप र औषधि विकास प्रक्रियामा अवरोध सिर्जना गर्ने बताएका छन्।
डब्लुएचओ संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विशेष स्वास्थ्य निकाय हो, जसले इबोला, एमपक्स, पोलियोजस्ता रोगहरूको प्रकोप नियन्त्रणमा अन्तर्राष्ट्रिय समन्वय गर्ने, गरिब राष्ट्रहरूलाई प्राविधिक सहयोग प्रदान गर्ने तथा विश्वव्यापी स्वास्थ्य मापदण्ड निर्धारण गर्ने काम गर्दै आएको छ। विश्वका प्रायः सबै देश यसको सदस्य रहेका छन् भने अमेरिकाको फिर्तीलाई विश्व स्वास्थ्य व्यवस्थापनका लागि ठूलो झट्काका रूपमा हेरिएको छ।

शेयर गर्नुहोस