फेटा बारा: फेटा गाउँपालिका–३ स्थित फेटा टोलमा राम जीवनको घरको दुवारमा सामाजिक परिवर्तन केन्द्रको सहकार्यमा जलवायु परिवर्तनका कारण तथा यसले मानव जीवन र कृषि क्षेत्रमा पार्ने प्रभाव विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ।

फेटा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रहालाद साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय बासिन्दा, कृषक, पत्रकार तथा फेटा गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखाका प्राविधिक सन्जय कुश्वाहा लगायत सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष, किसान र स्थानीय बासिन्दा गरी करिब ६० जनाको सहभागिता रहेको थियो।

संवादका क्रममा सहभागी कृषक तथा स्थानीय बासिन्दाहरूले जलवायु परिवर्तनका कारण खानेपानीका मुहान सुक्दै जानु, समयमा वर्षा नहुनु, खेतीमा रोग–किराको प्रकोप बढ्नु, कृषिउत्पादन घट्नु, नदी–नालाका मुहान सुक्नु तथा महिलामा छाला सम्बन्धी विभिन्न रोग देखिनु जस्ता समस्या बढ्दै गएकोबारे छलफल गरेका थिए।

कार्यक्रममा विश्वास कृषक समूह फेटा–३ का अध्यक्ष मदन पटेलले उद्योग, यातायात, इँटा भट्टा, कोइला तथा इन्धनको अत्यधिक प्रयोग जलवायु परिवर्तनका प्रमुख कारण भएको उल्लेख गर्नुभयो। उहाँले मानव क्रियाकलापबाट निस्कने प्रदूषक तत्वहरूले वातावरणमा गम्भीर नकारात्मक असर पारिरहेको बताउनुभयो।

