नवलपुर सर्लाही : स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले फलफूल नर्सरी तथा बगैंचा व्यवस्थापन सम्बन्धी पाँच दिने तालिम २०८२ माघ १९ गते देखि २३ गते सम्म उष्ण प्रदेशीय बागवानी केन्द्र, नवलपुर सर्लाहीको आयोजनामा सुरु भएको छ। तालिम बागवानी केन्द्रकै तालिम हलमा सञ्चालन भइरहेको छ।

उष्ण प्रदेशीय बागवानी केन्द्रका निमित्त प्रमुख रामकुमार यादवको अध्यक्षतामा विधिवत रूपमा उद्घाटन गरिएको उक्त तालिम कार्यक्रममा प्रमुख अतिथि सुनिल कुमार चौधरीको उपस्थिति रहेको थियो। कार्यक्रममा बागवानी केन्द्र नवलपुरका प्राविधिक तथा प्रशासनिक कर्मचारीहरूका साथै मधेश, कोशी र बागमती प्रदेशका विभिन्न स्थानीय तहबाट आएका १८ जना कृषि प्राविधिकहरूको सहभागिता रहेको छ।

कार्यक्रमको अध्यक्षता गर्दै निमित्त प्रमुख यादवले ब्यानर वाचनमार्फत तालिमको उद्घाटन गर्नुभएको थियो। उहाँले तालिम अवधिभर फलफूल नर्सरी तथा बगैंचा व्यवस्थापनसम्बन्धी विषयमा प्रयोगात्मक सिकाइमा विशेष जोड दिइने र कार्यतालिका अनुसार विषयविज्ञद्वारा प्रशिक्षण प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
तालिमको पहिलो दिन आयोजक संस्था र सहभागी प्राविधिकहरूको परिचयात्मक कार्यक्रम सम्पन्न भएको थियो। त्यसपछि कार्यतालिका अनुसार बागवानी केन्द्रको परिचय, आँपका जातहरू, केन्द्रले विकास गरेका जात तथा गतिविधि, बगैंचा स्थापना गर्दा ध्यान दिनुपर्ने पक्ष, आँप रोप्ने विधि, खाल्डा खन्ने तरिका, रोपाइँको उपयुक्त समय, मल–खादको प्रयोग, गोडमेल तथा काटछाँटसम्बन्धी विषयमा निमित्त प्रमुख रामकुमार यादवले प्रशिक्षण दिनुभएको थियो।

तालिमको दोस्रो सत्रमा बागवानीसम्बन्धी रोग तथा कीराको पहिचान र व्यवस्थापन विषयमा बाली संरक्षण अधिकृत सुनिल कुमार चौधरीले प्रशिक्षण प्रदान गर्नुभएको थियो।
उक्त तालिम कार्यक्रमबारे बागवानी केन्द्र नवलपुर, सर्लाहीका बागवानी विकास अधिकृत अन्जु चौधरीले जानकारी गराउनुभएको छ।

