मौसम परिवर्तनले कृषि क्षेत्रमा जोखिम बढ्दै, किसानलाई सतर्कता अपनाउन आग्रह

सखीखबर डट कम
पाठक संख्या - 359
पढ्न लाग्ने समाय 2 मि.

कलैया, बारा : तराई, भित्री मधेश तथा पहाडी बेँसी क्षेत्रका किसानहरूलाई लक्षित गर्दै हालको मौसम अवस्थालाई मध्यनजर गरी कृषि क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको छ। फेटा गाउँपालिकाका कृषि प्राविधिक सन्जय कुश्वाहाका अनुसार मौसम परिवर्तनका कारण बाली, फलफूल, पशुपालन तथा माछापालन क्षेत्रमा विभिन्न जोखिमहरू बढ्न सक्ने भएकाले समयमै सावधानी अपनाउन किसानहरूलाई आग्रह गरिएको छ।
कृषि प्राविधिक कुश्वाहाका अनुसार चैत धान खेतीका लागि हर्दिनाथ–१, चैत–४, चैत–५ र चैत–६ जात उपयुक्त रहेका छन्। धानको ब्याड तयार गर्दा १ मिटर चौडाइ कायम गरी ५ से.मी. गहिराइका नाली बनाउने र पर्याप्त मात्रामा गोठेमल मिसाउन सुझाव दिइएको छ।
यसैगरी, गहुँ बालीमा देखिन सक्ने रोगको नियन्त्रणका लागि सिफारिस गरिएको विषादी प्रयोग गर्न तथा कुनै समस्या देखिएमा नजिकको कृषि प्राविधिकसँग सम्पर्क गर्न किसानलाई आग्रह गरिएको छ। हालको मौसमका कारण तरकारी तथा मसुरो बालीमा डढुवा रोगको जोखिम बढेकाले मेन्कोजेब र कार्बेन्डाजिमयुक्त विषादी ७–१० दिनको अन्तरालमा छर्कन सुझाव दिइएको छ।
फलफूलतर्फ कागती, लिची र आँपमा फूल फुल्ने समय भएकाले परागसेचनमा सहयोग गर्ने उपयोगी किराको संरक्षणका लागि अनावश्यक विषादी प्रयोग नगर्न कृषि प्राविधिक कुश्वाहाले अनुरोध गर्नुभएको छ। तराईका जिल्लाहरूमा आगामी दिनमा आर्द्रता बढ्ने सम्भावना रहेकाले बालीमा रोगको नियमित अनुगमन आवश्यक रहेको उहाँको भनाइ छ।
पशुपालन क्षेत्रमा चिसो मौसमका कारण साना पशुहरूमा समस्या देखिन सक्ने भएकाले सरसफाइ र सन्तुलित आहारमा विशेष ध्यान दिन सुझाव दिइएको छ। विशेषगरी सुँगुर तथा बंगुरमा अफ्रिकन स्वाइन फिभरको जोखिम उच्च रहेकाले फार्म तथा घर वरपर कडाइका साथ जैव–सुरक्षा उपाय अपनाउन अनुरोध गरिएको छ।
यसैबीच, तराईका जिल्लाहरूमा कमन कार्प माछाको प्रजनन समय रहेकाले ह्याचरी तथा पोखरी व्यवस्थापनमा विशेष सावधानी अपनाउनुपर्ने जानकारी पनि दिइएको छ।
कृषि सम्बन्धी थप जानकारी तथा प्राविधिक सहयोगका लागि कृषि ज्ञान केन्द्र, कलैया तथा नजिकको नगरपालिका वा गाउँपालिकाको कृषि तथा पशु शाखासँग सम्पर्क गर्न किसानहरूलाई आग्रह गरिएको छ।

शेयर गर्नुहोस