कलैया, बारा :माटोको स्वास्थ्य जोगाइ राख्न सन्तुलित माटो रसायन (Soil Chemistry) तथा उचित माटो उर्वराशक्ति व्यवस्थापन अत्यन्तै आवश्यक रहेको फेटा गाउँपालिकाका कृषि प्राबिधिक सन्जय कुश्वाहाले बताएका छन्। उनका अनुसार माटोमा पोषक तत्त्वहरूको सन्तुलन कायम नगर्दा उत्पादनमा गिरावट आउनुका साथै दीर्घकालीन रूपमा कृषि प्रणाली नै कमजोर बन्ने खतरा बढ्छ।
कुश्वाहाका अनुसार सन्तुलित माटो रसायन व्यवस्थापनले बालीलाई आवश्यक पोषक तत्त्वहरू प्रभावकारी रूपमा उपयोग गर्न सहयोग पुर्याउँछ। यस प्रक्रियाले नाइट्रोजन, फस्फोरस, पोटासियम लगायत सूक्ष्म तत्त्वहरूको उपलब्धता सुधार गरी बालीको वृद्धि तथा उत्पादन क्षमतामा सकारात्मक प्रभाव पार्छ। “माटोमा पोषक तत्त्वको सन्तुलन कायम भएमा उत्पादन मात्र बढ्दैन, गुणस्तर समेत सुधार हुन्छ,” उनले बताए।
त्यसैगरी, उचित माटो उर्वराशक्ति व्यवस्थापनले माटोमा रहेका लाभदायक सूक्ष्मजीवहरूको सक्रियता बढाउने उनले उल्लेख गरे। सूक्ष्मजीवहरूले जैविक पदार्थको विघटन, पोषक तत्त्वको रूपान्तरण तथा माटो संरचना सुधारमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले तिनको सक्रियता दीगो कृषिका लागि अपरिहार्य मानिन्छ।
कृषि प्राबिधिक कुश्वाहाका अनुसार असन्तुलित रासायनिक मलको अत्यधिक प्रयोगले माटो अम्लीय (Acidification) वा क्षारिय (नुनिलो ) (Salinization) बन्ने समस्या निम्त्याउन सक्छ। यसले माटोको भौतिक, रासायनिक तथा जैविक गुणस्तरमा नकारात्मक असर पार्दै दीर्घकालमा उत्पादन क्षमता घटाउने जोखिम बढाउँछ।
यस सन्दर्भमा उनले माटो परीक्षणका आधारमा मात्र मल प्रयोग गर्न, जैविक मलको समुचित उपयोग गर्न, बाली चक्र प्रणाली अपनाउन तथा माटो संरक्षण प्रविधिहरू अवलम्बन गर्नुपर्नेमा जोड दिए। सन्तुलित माटो रसायन र उर्वराशक्ति व्यवस्थापन मार्फत मात्र दीगो, उत्पादनशील र वातावरण मैत्री कृषि प्रणाली सुनिश्चित गर्न सकिने उनको सुझाव रहेको छ।
