बारा १५फागुन : मकै लगायत विभिन्न खाद्यबालीमा क्षति पुर्याउँदै आएको अमेरिकन फौजी कीरा (Fall Armyworm) को प्रकोप देशभर तीव्र रूपमा फैलिँदै गएको छ। फेटा गाउँपालिकाका कृषि प्राबिधिक सन्जय कुश्वाहाका अनुसार यो कीरा नेपालमा पहिलो पटक वि.सं. २०७६ वैशाख २६ गते नवलपरासीको गैँडाकोटमा फेला परेको थियो। हालसम्म ६४ भन्दा बढी जिल्लामा यसको फैलावट पुष्टि भइसकेको छ।
के हो अमेरिकन फौजी कीरा?

अमेरिकन फौजी कीरा पुतली समूहअन्तर्गत पर्ने राति सक्रिय हुने कीरा हो, जसको लार्भा अवस्थाले बालीमा सबैभन्दा बढी क्षति पुर्याउँछ। एक पोथी पुतलीले आफ्नो जीवनकालमा १,५०० देखि २,००० सम्म अण्डा पार्न सक्छ भने वयस्क पुतली एक रातमा करिब १०० किलोमिटर सम्म उड्न सक्षम हुन्छ। अनुकूल बाली उपलब्ध भएमा वर्षभर सन्तान उत्पादन गर्न सक्ने तथा प्रतिकूल मौसममा पनि बाँच्न सक्ने क्षमताका कारण यसलाई अत्यन्त खतरनाक कीराका रूपमा लिइन्छ।
कुन–कुन बालीमा क्षति?
यो कीराले मुख्यतया मकै बालीमा बढी क्षति पुर्याउँछ। मकै नभएको अवस्थामा धान, गहुँ, कोदो, उखु, भान्टा, कपास, आलु लगायत ८० भन्दा बढी बालीमा असर पुर्याउन सक्छ।

साना लार्भाले पातको हरियो भाग कोत्रेर खाने हुँदा पातमा सेता धब्बा देखिन्छन्। लार्भा ठूलो हुँदै जाँदा पातमा प्वाल पार्नुका साथै मकैको गुभोभित्र पसी दाना, जुँगा र घोगासम्म नोक्सान पुर्याउँछ। गुभोभित्र काठको धुलो जस्तै विष्टा देखिनु यसको प्रमुख संकेत मानिन्छ।
३१–४५ दिनमा पूरा हुने जीवनचक्र
अमेरिकन फौजी कीराको जीवनचक्र ३१ देखि ४५ दिनभित्र पूरा हुन्छ, जसमा चार चरण समावेश छन्।

अण्डा (२–३ दिन): पातको तल्लो सतहमा झुप्पामा राखिन्छ।
लार्भा (१३–१८ दिन): सबैभन्दा हानिकारक अवस्था, ६ पटकसम्म रूपान्तरण हुन्छ। ‘क्यानिबालिज्म’ स्वभावका कारण एउटाले अर्कोलाई समेत खान सक्छ।प्युपा (८–१२ दिन): माटोमुनि बस्ने अवस्था।वयस्क (७–१२ दिन): पुनः अण्डा पार्न सुरु गर्ने चरण।
पूर्ण विकसित लार्भाको टाउकोमा अङ्ग्रेजी अक्षर ‘Y’ आकारको सेतो धर्का देखिनु र शरीरको अन्तिम भागमा चारवटा काला थोप्ला वर्गाकार रूपमा हुनु यसको पहिचानका आधार हुन्। भाले पुतलीको अघिल्लो पखेटाको टुप्पोमा ठूलो सेतो धब्बा देखिन्छ।

अनुगमन र नियन्त्रणका उपाय
कृषि प्राबिधिक सन्जय कुश्वाहाका अनुसार खेतमा ‘W’ वा भर्याङ ढाँचामा हिँडेर नियमित स्काउटिङ गर्नुपर्छ। बिरुवाको उमेरअनुसार २०–५० प्रतिशतसम्म क्षति देखिएमा तत्काल नियन्त्रण सुरु गर्न सुझाव दिइएको छ।
खेती प्रविधिमा सुधार:
मकै रोप्नुअघि गहिरो खनजोत गर्ने,सबै किसानले एकै समयमा रोपाइँ गर्ने,सिफारिस गरिएको दूरी कायम गर्ने
Push–Pull प्रविधिको प्रयोग गर्ने
मेकानिकल उपाय:
बिहान अण्डा र लार्भा संकलन गरी नष्ट गर्ने
फेरोमोन तथा बत्ती पासोको प्रयोग गर्ने

जैविक विधि:
परजीवी बारुला Trichogramma chilonis र Telenomus remus को प्रयोग प्रभावकारी मानिएको छ।
प्रति हेक्टर १ लाखभन्दा बढी अण्डा दरले ४–६ पटक प्रयोग गर्दा राम्रो नतिजा देखिएको छ।Bacillus thuringiensis (Bt) जैविक विषादी साना लार्भामा प्रभावकारी हुन्छ।

रासायनिक विषादीबाट नियन्त्रण:
कुश्वाहाका अनुसार Spinosad 45% SC, Spinetoram 11.7% SC र Chlorantraniliprole 18.5% SC प्रभावकारी देखिएका छन्। पहिलो छराइ मकै रोपेको ८–१० दिनमा र दोस्रो ८–१० दिनपछि गर्न सुझाव दिइएको छ। विषादी छर्दा मकैको पात र गुभो भिज्ने गरी छर्नु आवश्यक रहेको बताइएको छ। प्रति लिटर पानीमा २ मिलिलिटर मात्रा भन्दा कम वा बढी प्रयोग नगर्न आग्रह गरिएको छ।

कृषि प्राबिधिक सन्जय कुश्वाहाले किसानहरूलाई नियमित अनुगमन, समयमै पहिचान र एकीकृत व्यवस्थापन प्रणाली (IPM) अपनाउन आग्रह गर्दै प्रकोप नियन्त्रणका लागि सबै पक्षको समन्वय आवश्यक रहेको बताएका छन्।
