बाराको फेटा गाउँपालिकामा चैते धानको रोपाइँ सुरु

सखीखबर डट कम
पाठक संख्या - 167
पढ्न लाग्ने समाय 2 मि.

बारा, २ चैत : बाराको फेटा गाउँपालिकामा चैते धानको रोपाइँ सुरु भएको छ। गाउँपालिकाभित्रका विभिन्न स्थानमा किसानहरूले चैते धान रोप्न थालेको गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखाका कृषि प्राविधिक सन्जय कुश्वाहाले जानकारी दिएका छन्।
कृषि प्राविधिक कुश्वाहाका अनुसार चैत महिनाको तेस्रो हप्तासम्ममा गाउँपालिका भरि चैते धानको रोपाइँ सम्पन्न हुने अनुमान गरिएको छ। पछिल्लो समय किसानहरूमा चैते धान खेतीतर्फ रुचि बढ्दै गएको कुश्वाहाले बताए।


कुशवाहाका अनुसार परम्परागत खेती प्रणालीको तुलनामा उन्नत कृषि प्रविधि अपनाउने प्रवृत्ति बढ्दै जाँदा धानखेती गर्ने प्रचलन पनि विस्तार हुँदै गएको छ। यसैक्रममा कतिपय किसानहरूले रोपाइँका लागि बीउ तयार गरिसकेका छन् भने केही स्थानमा अहिले पनि बीउ राख्ने काम भइरहेको छ।
फेटा गाउँपालिका–७ का किसान मनोज कुश्वाहाका अनुसार पानीको अभाव भए पनि दुई बाली धान उत्पादन गर्ने उद्देश्यले किसानहरूले खेत तयारी, मलखाद र सिँचाइ व्यवस्थापनमा विशेष ध्यान दिन थालेका छन्। अहिले गाउँपालिकाका विभिन्न स्थानमा धमाधम चैते धान रोपाइँ भइरहेको छ।


कृषि शाखाका अनुसार गत वर्ष फेटा गाउँपालिकामा करिब २०० हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो। यहाँ विशेषगरी ‘हर्दिनाथ–१’ जातको धान बढी लगाइने गरिएको छ। बजारमा बिक्रीको सुनिश्चितता र तुलनात्मक रूपमा राम्रो मूल्य पाइने भएकाले ‘हर्दिनाथ–६’ जातप्रति पनि किसानहरूको चासो बढ्दै गएको भए पनि अधिकांश किसानले अझै ‘हर्दिनाथ–१’ जातलाई नै प्राथमिकतामा राखेको कृषि प्राविधिक कुश्वाहाले जानकारी दिए।

शेयर गर्नुहोस