बजारमुखी खेतीतर्फ किसानलाई जोड दिँदै कृषि प्राविधिकको सुझाव

सखीखबर डट कम
पाठक संख्या - 257
पढ्न लाग्ने समाय 2 मि.

बारा, १३ चैत : स्थानीय बजारमा माग भएका बालीहरूको उत्पादन आजका किसानका लागि अनिवार्य बन्दै गएको छ। केवल राम्रो देखिने वा चलनचल्तीमा आएका बाली रोप्नु मात्र पर्याप्त नहुने भन्दै बजारमा माग नभए उत्पादन बिक्री गर्न कठिन हुने फेटा गाउँपालिकाका कृषि प्राविधिक सन्जय कुश्वाहाले बताएका छन्।
कुश्वाहाका अनुसार कुनै पनि बालीको बजार माग उच्च हुँदा त्यसको बिक्री छिटो हुने, मूल्य तुलनात्मक रूपमा स्थिर रहने र किसानले नोक्सानी व्यहोर्ने सम्भावना कम हुन्छ। “माग नभएको अवस्थामा राम्रो उत्पादन भए पनि किसानले उचित मूल्य पाउन सक्दैनन्, जसले अन्ततः घाटा निम्त्याउँछ,” उनले बताए।
उनले खेती सुरु गर्नुअघि बजारको अवस्था, उपभोक्ताको आवश्यकता तथा सम्भावित खरिदकर्ताबारे जानकारी लिनु अत्यन्तै आवश्यक रहेको उल्लेख गरे। बजारको आवश्यकताअनुसार गरिएको खेतीले मात्र किसानको आम्दानी बढाउने र कृषि व्यवसायलाई दिगो बनाउन सहयोग पुग्ने उनको भनाइ छ।
यसै सन्दर्भमा उनले आधुनिक खेती प्रणालीमा ‘रोपाइँभन्दा पहिले बजारअनुसार योजना बनाउने’ सिद्धान्त आत्मसात् गर्नु आजको आवश्यकता भएको स्पष्ट पारे। साथै, किसानहरूलाई बजार माग विश्लेषण गर्न सुझाव दिँदै उनले कुन सिजनमा कुन तरकारीको अभाव हुन्छ भन्ने बुझेर अफ–सिजन उत्पादनमा ध्यान दिन आग्रह गरे।
उपभोक्ताको रोजाइअनुसार विशेष जातका तरकारी उत्पादन गर्न सके बजारमा राम्रो मूल्य पाउन सकिने उनले बताए। त्यस्तै, एकीकृत शत्रुजीव व्यवस्थापन (IPM) प्रविधि अन्तर्गत स्टिकी ट्र्यापको प्रयोगले विषादी खर्च घटाउने र उत्पादनलाई सुरक्षित तथा स्वस्थ बनाउन सहयोग गर्ने उनको भनाइ छ।
स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गरी लगानी कम गर्न सके नाफा बढाउन सकिने उल्लेख गर्दै उनले मागभन्दा बढी उत्पादन भएको अवस्थामा सस्तोमा बिक्री गर्नुभन्दा भण्डारण गर्ने वा अचार, सुकुटी तरकारीजस्ता मूल्य अभिवृद्धि भएका परिकार तयार गर्नु उपयुक्त हुने सुझाव दिए।
कुश्वाहाका अनुसार एक्लै उत्पादन गर्दा बजारसम्म पहुँच कठिन हुन सक्छ। समूह वा सहकारीमार्फत उत्पादन गर्दा ढुवानी खर्च घट्ने र व्यापारीसँग उचित मूल्यमा बार्गेनिङ गर्न सहज हुने हुन्छ।
अन्त्यमा उनले किसानहरूलाई “जे उत्पादन हुन्छ, त्यो बेच्ने” भन्दा पनि “जे बिक्छ, त्यो उत्पादन गर्ने” सोच अपनाउन आग्रह गर्दै यसैबाट किसान वास्तविक रूपमा आत्मनिर्भर बन्न सक्ने बताए ।

शेयर गर्नुहोस