जलवायु परिवर्तनको बढ्दो प्रभाव: समयमै कदम नचाले गम्भीर संकटको चेतावनी

सखीखबर डट कम
पाठक संख्या - 267
पढ्न लाग्ने समाय 2 मि.

बारा, चैत : नेपाल न्यून हरितगृह ग्यास उत्सर्जन गर्ने देश भए पनि जलवायु परिवर्तनका असरबाट अत्यधिक प्रभावित मुलुकका रूपमा देखा परेको छ। फेटा गाउँपालिकाको कृषि प्राविधिक सन्जय कुश्वाहाले समयमै प्रभावकारी नीति, आधुनिक प्रविधिको प्रयोग तथा स्थानीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्न नसकिए भविष्यमा यसको प्रभाव अझ गम्भीर हुन सक्ने चेतावनी दिएका छन्।


उनका अनुसार पछिल्लो समय नेपालमा तापक्रम वृद्धि, अनियमित वर्षा, बाढी–पहिरो, खडेरी तथा हिमनदी पग्लिने दर तीव्र गतिमा बढिरहेको छ। यी परिवर्तनहरूले विशेषगरी कृषि, जलस्रोत, स्वास्थ्य तथा पूर्वाधार क्षेत्रमा प्रत्यक्ष असर पारिरहेको उनले बताए।


कुश्वाहाका अनुसार नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा जलवायु परिवर्तनका असर अझ संवेदनशील रूपमा देखिन्छन्। हिमाल, पहाड र तराई क्षेत्रमा फरक–फरक प्रकारका जोखिमहरू बढ्दै गएका छन्, जसले जनजीवन र आर्थिक गतिविधिमा समेत चुनौती थपेको छ।जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि वन संरक्षण, स्वच्छ ऊर्जा प्रवर्द्धन तथा कार्बन उत्सर्जन घटाउने नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए। साथै, जलवायु–स्मार्ट कृषि प्रविधिको विस्तार, विपद् पूर्वसूचना प्रणाली सुदृढीकरण तथा जल व्यवस्थापनमा सुधार गर्नुपर्ने सुझाव पनि दिएका छन्।


कुश्वाहाले दीर्घकालीन समाधानका लागि स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै समुदायस्तरमै अनुकूलन क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।
यद्यपि जलवायु परिवर्तनको असर तीव्र रूपमा बढ्दै गए पनि समयमै उचित नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकिए नेपालले यसको जोखिम उल्लेखनीय रूपमा घटाउन सक्ने सम्भावना रहेको उनको धारणा छ।

शेयर गर्नुहोस