चैती छठ सम्पन्न : उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चारदिने पर्वको समापन

सखीखबर डट कम
पाठक संख्या - 74
पढ्न लाग्ने समाय 2 मि.

धार्मिक आस्था, श्रद्धा, शुद्धता तथा सामाजिक सद्भावको प्रतीकका रूपमा मनाइने चैती छठ पर्व आज उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै विधिवत् रूपमा सम्पन्न भएको छ।
चार दिनसम्म विभिन्न विधि अपनाई मनाइने यस पर्वको चौथो दिन बुधबार बिहान तराई–मधेशका रौतहट, बारा, पर्सा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही लगायत जिल्लाका नदी, पोखरी, तलाउ तथा जलाशयमा व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ दिएका छन्।
अहिंसा, सहानुभूति र मानवताको भावनालाई सुदृढ बनाउने उद्देश्यले मनाइने यस पर्वअन्तर्गत मंगलबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो भने बुधबार बिहान “भोरका अर्घ” दिएसँगै पर्व समापन भएको हो।
चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वको पहिलो दिन “नहाय–खाय” विधिबाट सुरु हुन्छ। यस दिन व्रतालुहरूले स्नान गरी चोखो भोजन ग्रहण गर्छन्। त्यसपछि सम्पूर्ण विधि अत्यन्त शुद्धता र नियमपूर्वक सम्पन्न गरिन्छ।
छठ पर्वमा भगवान् सूर्यदेवको उपासना गरिन्छ। व्रतालुहरूले केरा, उखु, भान्टा, दूध, माटोका सामग्रीलगायत पूजासामग्री अर्पण गर्ने परम्परा छ। षष्ठी तिथिका दिन निराहार व्रत बसेका व्रतालुहरूले साँझ जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन रहेको छ, जसलाई “सँझिया के अर्घ” भनिन्छ।
रातभर घाटमा जाग्राम बसेपछि सप्तमीको बिहान पुनः स्नान गरी उदाउँदो सूर्यलाई अर्घ अर्पण गरिन्छ, जसलाई “भोरका अर्घ” भनिन्छ। यसरी अर्घ दिएपछि छठ पर्व औपचारिक रूपमा सम्पन्न हुने गर्दछ।
तराई–मधेश क्षेत्रमा कार्तिक र चैत महिनामा छठ मनाउने परम्परा रहेको छ। संस्कृतिविद्हरूका अनुसार दुवै छठको धार्मिक महत्व समान भए पनि मौसमका कारण चैती छठ केही कठिन मानिन्छ। चैतको गर्मीका कारण निराहार व्रत बस्न व्रतालुहरूलाई चुनौतीपूर्ण हुने गर्दछ।
पछिल्ला वर्षहरूमा चैती छठ मनाउनेहरूको संख्या बढ्दो देखिएको छ। कात्तिकमा छठ गर्न नपाएका, दुवै समयमा व्रत गर्ने तथा भाकल गर्ने व्रतालुहरूको सहभागिता उल्लेखनीय रूपमा बढिरहेको छ। साथै, मधेशी समुदायमा सीमित रहेको छठ पर्व पछिल्लो समय पहाडी समुदायमा पनि लोकप्रिय बन्दै गएको छ।

शेयर गर्नुहोस