वीरगंज नाकाबाट आयात १५.३० प्रतिशतले वृद्धि, ६ महिनामा ४ खर्ब ३८ अर्बको कारोबार

सखीखबर डट कम
पाठक संख्या - 186
पढ्न लाग्ने समाय 2 मि.

माघ १२, वीरगंज :वीरगंज नाका हुँदै चालु आर्थिक वर्ष (आव) को पहिलो ६ महिनामा चार खर्ब ३८ अर्ब २१ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएका छन्। गत आवको सोही अवधिको तुलनामा चालु आवमा आयात १५ दशमलव ३० प्रतिशतले वृद्धि भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगंज नाका हुँदै तीन खर्ब ८० अर्ब ६ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएका थिए। चालु आवमा भने आयातको परिमाण र मूल्य दुवैमा उल्लेखनीय वृद्धि देखिएको छ।
वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको पहिलो ६ महिनामा यो नाका हुँदै हुने आयातमा उल्लेखनीय बढोत्तरी भएको हो। उनका अनुसार पेट्रोलियम पदार्थ, फलामजन्य सामग्री, मेसिनरी तथा विद्युतीय उपकरणको आयात बढी रहेको छ।
भन्सार तथ्यांकअनुसार सो अवधिमा ९० अर्ब ६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। त्यस्तै, ३९ अर्ब ३ करोड रुपैयाँ मूल्यका फलाम तथा फलामबाट बनेका सामान भित्रिएका छन्।
यसैगरी, ३० अर्ब १ करोड रुपैयाँ बराबरका मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने २७ अर्ब ७२ करोड रुपैयाँ मूल्यको भटमासको कच्चा तेल आयात भएको छ। सोही अवधिमा २४ अर्ब ६१ करोड रुपैयाँ बराबरका ‘इलेक्ट्रिक मेसिनरी’, उपकरण तथा तिनका पार्टपुर्जा आयात भएका छन्।
त्यसैगरी, १९ अर्ब ४ करोड रुपैयाँ मूल्य बराबरका कपडाहरू पनि वीरगंज नाका हुँदै भित्रिएका छन्।
व्यापारिक गतिविधि बढ्दै जानु, औद्योगिक कच्चा पदार्थ र इन्धनको माग वृद्धि हुनु तथा उपभोग्य वस्तुको आयात बढ्नु आयात वृद्धिका मुख्य कारण रहेको भन्सार कार्यालयको भनाइ छ।

शेयर गर्नुहोस