महोत्तरी सीमा नाकाबाट ठुलो परिमाणको लागुऔषधसहित भारतीय नागरिक पक्राउ

सखीखबर डट कम
पाठक संख्या - 187
पढ्न लाग्ने समाय 1 मि.

मसिर ९, महोत्तरी :सशस्त्र प्रहरीले नेपाल–भारत सीमा नाकाबाट ठूलो परिमाणको लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको बिहार राज्य, मधुवापुर मधुवनी गाउँपञ्चायत-२ का ३५ वर्षीय विनोद साहलाई सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका टोलीले नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डिआइजी) कृष्ण ढकालका अनुसार साहको साथबाट पाँच प्रकारका नियन्त्रित लागुऔषध बरामद गरिएको छ। बरामद वस्तुहरूमा निटजासकपान ट्याबलेट ३,२९८ थान, डाइजापाम इन्जेक्सन २९९ भाइल, फेनारगन इन्जेक्सन ३०० भाइल, बुप्रेनोफिन इन्जेक्सन २७४ थान तथा पहिचान खुल्न नसकेको खैरो पदार्थ ६५० मिलिग्राम रहेका छन्।

मटिहानीस्थित बोर्डर आउटपोस्ट (विओपी) का सप्रनानि टीकाबहादुर अधिकारीको कमान्डमा खटिएको तीन जनाको टोलीले मटिहानी नगरपालिका-८ स्थित सानो सीमा स्तम्भ नं. २९५/५ नजिक साहलाई शंका लागेपछि तलासी लिएको थियो। तलासीका क्रममा उनी बोकेर आएको नीलो रङको झोलाबाट उक्त परिमाणका लागुऔषध फेला परेको डिआइजी ढकालले जानकारी दिनुभयो।

प्रहरीले साहको साथबाट मोबाइल, आइप्याड तथा नेपाली र भारतीय मुद्रा पनि बरामद गरेको जनाएको छ। पक्राउ परेका साहलाई बरामद सामग्रीसहित जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।डिआइजी ढकालका अनुसार सीमा क्षेत्रमा लागुऔषध तस्करी रोक्न सुरक्षा निगरानी थप कडा पारिएको छ।

शेयर गर्नुहोस