अति भारी वर्षा र हावाहुरीको जोखिम, किसानलाई सतर्क रहन कृषि विज्ञ कुशवाहाको सुझाव

संजय कुशवाहा
पाठक संख्या - 228
पढ्न लाग्ने समाय 3 मि.

बारा । देशभर मनसुनी वायु तथा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहने तथा साताको मध्यसम्म बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहने मौसम पूर्वानुमान गरिएको छ। मौसम प्रणालीका कारण आगामी साता देशको मध्य तथा पश्चिमी भू–भागमा औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ।
विशेषगरी पहाडी तथा तराईका विभिन्न भू–भागमा भारीदेखि अति भारी वर्षा र हावाहुरीको जोखिम रहेकाले किसान तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन कृषि विज्ञ सञ्जय कुशवाहाले आग्रह गरेका छन्।
कुशवाहाका अनुसार लगातारको भारी वर्षाले खेतबारीमा पानी जम्ने, बाढी तथा डुबान हुने, माटो कटान हुने र तयार हुँदै गरेका बालीमा क्षति पुग्ने सम्भावना रहन्छ। विशेषगरी तराई क्षेत्रमा धान, तरकारी, मकै, दलहन तथा अन्य बालीमा पानी जम्दा जरामा अक्सिजनको कमी भई बाली पहेँलिने तथा रोग–कीराको प्रकोप बढ्न सक्ने उनको भनाइ छ।
“वर्षा आफैंमा समस्या होइन, तर अत्यधिक वर्षा र खेतमा लामो समय पानी जम्नु किसानका लागि जोखिम हो। त्यसैले किसानले मौसमको अवस्था हेरेर समयमै खेतको पानी निकासको व्यवस्था गर्नुपर्छ,” कृषि विज्ञ कुशवाहाले बताए।
उनले धान तथा अन्य बाली लगाइएको खेतमा कुलो तथा नाली सफा गर्ने, पानीको निकास खुला राख्ने, कमजोर अवस्थामा रहेका तरकारीका टहरा तथा संरचना सुरक्षित गर्ने र हावाहुरीको सम्भावना भएका क्षेत्रमा बाली तथा कृषि संरचनालाई सुरक्षित बनाउन सुझाव दिएका छन्।
त्यस्तै, भारी वर्षापछि खेतमा रोग तथा कीराको प्रकोप बढ्न सक्ने भएकाले किसानले तत्काल विषादी प्रयोग गर्नुभन्दा पहिले बालीको अवस्था र रोग–कीराको पहिचान गरेर मात्र प्राविधिकको सल्लाहमा व्यवस्थापनका उपाय अपनाउनुपर्ने कुशवाहाको सुझाव छ।
मौसम पूर्वानुमानअनुसार साताको सुरूमा कोशी र मधेशसहित विभिन्न प्रदेशका तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ। साथै केही क्षेत्रमा हावाहुरीको जोखिमसमेत रहेको छ।
कृषि विज्ञ कुशवाहाले किसानलाई “मौसमको सूचना हेर्नुहोस्, खेतको पानी निकास मिलाउनुहोस् र जोखिमपूर्ण अवस्थामा कृषि कार्य नगर्नुहोस्” भन्दै स्थानीय कृषि प्राविधिक तथा सम्बन्धित निकायसँग नियमित सम्पर्कमा रहन आग्रह गरेका छन्।
उनका अनुसार मौसमजन्य जोखिम न्यूनीकरणका लागि किसानले बालीमा क्षति पुगेमा त्यसको तस्बिर तथा विवरण सुरक्षित राख्ने, आवश्यक परे कृषि प्राविधिकलाई जानकारी गराउने र कृषि बीमा गरेका किसानले क्षतिको प्रारम्भिक प्रमाण संकलन गर्नुपर्ने हुन्छ।
मौसम विभागका अनुसार साताको मध्यबाट अधिकतम तथा न्यूनतम तापक्रम बढ्ने सम्भावना रहेको छ। पूर्वी भू–भागमा तापक्रम औसतभन्दा बढी तथा पश्चिमी पहाडी र हिमाली क्षेत्रमा औसतभन्दा कम रहने अनुमान गरिएको छ।
कुशवाहाले अन्ततः भने, “विपद् आएपछि क्षति व्यवस्थापन गर्नुभन्दा जोखिम आउनुअघि नै तयारी गर्नु किसानका लागि सबैभन्दा प्रभावकारी उपाय हो।”

शेयर गर्नुहोस