कलैया, असार २०। बारा जिल्लाको कलैया उपमहानगरपालिका–२४ क्षेत्रमा रहेको चिनी उद्योगबाट निस्कने फोहोर तथा रासायनिक पदार्थ बगरी नदीमा मिसाइएका कारण नदी प्रदूषित भएको तथा त्यसले स्थानीय बासिन्दाको स्वास्थ्य, कृषि र वातावरणमा प्रतिकूल असर परेको भन्दै स्थानीयवासीले शनिबार बिहान शान्तिपूर्ण बैठक गरी १० बुँदे ज्ञापनपत्र तयार गरेका छन्।
कलैयाकी छोरी हिरामती कुश्वाहाको नेतृत्वमा बगरी पुल क्षेत्रमा आयोजित बैठकमा पूर्व सांसद रामचन्द्र प्यासी, फेटा गाउँपालिकाका रुस्तम अन्सारी, आत्मा राम साह, युवा उदय ठाकुर, पूर्व वडा अध्यक्ष जयप्रकाश दास, वडा अध्यक्ष बिगन दास, डा. सुशील साह, उमेश कुश्वाहा, स्थानीय बासिन्दा, सामाजिक परिवर्तन केन्द्र बाराका जिल्ला संयाेजक बिक्की महताे तथा पत्रकारहरूको सहभागिता रहेको थियो।

बैठकमा सहभागीहरूले नेपालको संविधान, २०७२ को धारा ३० ले सुनिश्चित गरेको स्वच्छ वातावरणको मौलिक हकको संरक्षण तथा वातावरण संरक्षण ऐन, २०७६ को प्रभावकारी कार्यान्वयनको माग गरेका छन्। उद्योगबाट निस्कने फोहोर तथा रासायनिक पदार्थको उचित व्यवस्थापन, बगरी नदीमा भएको भनिएको प्रदूषणको निष्पक्ष छानबिन, नियमित अनुगमन तथा दोषी पाइए कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
बैठकपछि हिरामती कुश्वाहाको नेतृत्वमा तयार गरिएको १० बुँदे ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय, बारामा बुझाइएको आयोजकले जनाएको छ। ज्ञापनपत्र सहायक प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित निकायमा आवश्यक पहलका लागि पेश गरिएको जानकारी दिइएको छ।
सहभागीहरूले बगरी नदीलाई थप प्रदूषणबाट जोगाउन तत्काल प्रभावकारी कदम चाल्न, स्थानीयवासीको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न तथा वातावरणीय मापदण्डको कडाइका साथ पालना गराउन सरकारसँग माग गरेका छन्। साथै, उद्योगबाट हुने वातावरणीय प्रभावबारे निष्पक्ष अनुसन्धान गरी तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पनि उनीहरूले जोड दिएका छन्।



