बारा, कलैया साउन ७:रिलायन्स सुगर मिलबाट बागरी नदीमा छोडिएको फोहोर तथा प्रदूषित पानीका कारण उत्पन्न वातावरणीय समस्या समाधानका लागि फेटा गाउँपालिका–१, टोल भलुहीमा बागरी नदी प्रदूषण नियन्त्रणसम्बन्धी संवाद कार्यक्रम सम्पन्न भएको छ। हिरामती कुश्वाहाको नेतृत्वमा गठित बागरी नदी व्यवस्थापन तथा संरक्षण समितिका संयोजक श्याम सुन्दर कुम्हालको अध्यक्षतामा आयोजित कार्यक्रममा हाल सम्म प्रदूषण नियन्त्रणका लागि समितिले गरेका पहल, सम्बन्धित निकायमा बुझाइएको ज्ञापनपत्र, सरोकारवाला निकाय सँग भएका छलफल, जिल्ला प्रशासन कार्यालय बाराले चालेका कदम तथा आगामी कार्ययोजना बारे विस्तृत समीक्षा गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले बागरी नदीको प्रदूषण दीर्घकालीन रूपमा समाधान गर्न स्थानीय समुदाय, उद्योग, स्थानीय तह तथा सरकारी निकायबीच प्रभावकारी समन्वय र नियमित अनुगमन आवश्यक रहेकोमा जोड दिएका थिए। संवाद कार्यक्रममा बोल्दै हिरामती कुश्वाहाले बागरी नदीको प्रदूषणले किसान, स्थानीय बासिन्दा, पशुपालन तथा समग्र वातावरणमा गम्भीर असर पुर्याएको बताउँदै सम्बन्धित उद्योगले वातावरणीय मापदण्डको पूर्ण पालना गर्नुपर्ने र सरकारी निकायले प्रभावकारी अनुगमन तथा आवश्यक कारबाही गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा युवा नेता उमेश दुबे, फेटा गाउँपालिका वडा सदस्य लोहा यादव, समाजसेवी मोहन दास, नवीनतम कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष उदय ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) फेटा गाउँपालिका सभापति निर्देश साह, सदस्य राजन दास तथा सखी महिलाको साथीका निर्देशक प्रीयाका कुश्वाहालगायतले आ–आफ्नो धारणा राख्दै प्रदूषण नियन्त्रणका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। संवाद कार्यक्रममा प्रदूषणबाट प्रभावित किसान, स्थानीय बासिन्दा, युवा तथा बागरी नदी व्यवस्थापन तथा संरक्षण समितिका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको निष्कर्षमा बागरी नदीको प्रदूषण नियन्त्रण, प्रभावित क्षेत्रको संरक्षण तथा किसानको हित सुनिश्चित गर्न सम्बन्धित निकायसँग निरन्तर समन्वय, नियमित अनुगमन र आवश्यक दबाबमूलक कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।उक्त संवाद कार्यक्रम सामाजिक परिवर्तन केन्द्र, काठमाडौंको सहयोगमा सम्पन्न भएको हो। कार्यक्रमबारे जानकारी सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिक्की कुश्वाहाले गराउनुभएको थियो।
