बारामा एलपी ग्यासको चरम अभाव : बिहान ५ बजेदेखि लाइन, उपभोक्ता खाली सिलिन्डर बोकेर फर्किन बाध्य

संजय कुशवाहा
पाठक संख्या - 81
पढ्न लाग्ने समाय 2 मि.

कलैया, बारा : कलैया उपमहानगर क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव दिनप्रतिदिन चुलिँदै गएको छ। बजारका अधिकांश पसलमा ग्यास उपलब्ध नभएपछि सर्वसाधारण बिहानै ५ बजेदेखि ग्यास डिलरको कार्यालयमा लाइन बस्न बाध्य भएका छन्। घण्टौँसम्म लाइनमा उभिँदा पनि धेरै उपभोक्ता ग्यास नपाई खाली सिलिन्डर बोकेर घर फर्किनुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्।
ग्यास अभावका कारण दैनिक जीवन प्रभावित बनेको छ। विशेष गरी बिहान–बेलुकाको खाना पकाउन समस्या भएपछि सर्वसाधारणले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। बजारमा नियमित अनुगमनको अभाव र आपूर्ति व्यवस्थापन कमजोर हुँदा उपभोक्ताले सास्ती भोग्नुपरेको गुनासो बढ्दै गएको छ।
यस विषयमा सामाजिक अभियन्ता तथा कलैयाकी छोरी हिरामती कुशवाहाले सम्बन्धित निकायलाई तत्काल आवश्यक कदम चाल्न आग्रह गरेकी छन्। अत्यावश्यक उपभोग्य वस्तुमा यस्तो अभाव हुनु गम्भीर लापरबाही भएको उल्लेख गर्दै उनले सरकारले समयमै प्रभावकारी हस्तक्षेप गर्नुपर्ने बताइन्।
उनले भनिन्, “खाना पकाउने ग्यासजस्तो आधारभूत आवश्यक वस्तुको अभाव हुँदा पनि सरकार मौन बस्नु दुःखद विषय हो। बजारमा नियमित अनुगमन नहुँदा उपभोक्ताले अनावश्यक सास्ती भोग्नुपरेको छ। यदि कृत्रिम अभाव वा कालोबजारी भएको हो भने दोषीलाई तत्काल कानुनी दायरामा ल्याइनुपर्छ।”
हिरामती कुशवाहाले सम्बन्धित निकायलाई बजारको तत्काल अनुगमन गरी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव अन्त्य गर्न तथा उपभोक्ताको अधिकारको संरक्षण गर्न माग गरेकी छन्।
यस्तै, स्थानीय उपभोक्ताले पनि ग्यास अभावको वास्तविक कारण सार्वजनिक गर्न, वितरण प्रणालीलाई पारदर्शी बनाउन तथा सम्भावित कालोबजारी नियन्त्रण गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्। उनीहरूले दैनिक उपभोगसँग प्रत्यक्ष जोडिएको ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छिन।

शेयर गर्नुहोस