लैङ्गिक उत्तरदायी सुशासन तथा समावेशी स्थानीय नीति सम्बन्धी कार्यशाला कलैयामा सम्पन्न

संजय कुशवाहा
पाठक संख्या - 163
पढ्न लाग्ने समाय 3 मि.

कलैया श्रावण ३१: UK in Nepal र UN Women को सहयोग तथा सखीः महिलाको साथी संस्थाको सहकार्यमा सञ्चालित HAMRO SAHAS परियोजनाअन्तर्गत स्थानीय सरकारका प्रतिनिधिहरूसँग लैङ्गिक उत्तरदायी सुशासन तथा समावेशी स्थानीय नीतिसम्बन्धी एकदिने कार्यशाला कलैयामा सम्पन्न भएको छ।
कार्यशालाको उद्घाटन सत्रको अध्यक्षता सखी संस्थाकी कार्यकारी निर्देशक प्रियंका कुमारी कुशवाहाले गरेकी थिइन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा फेटा गाउँपालिकाका कार्यपालिका अध्यक्ष रुस्तम अन्सारीको उपस्थिति रहेको थियो भने कार्यशालाको सहजीकरण मुनिलाल बैठाले गरेका थिए।

कार्यशालामा फेटा गाउँपालिकाका कार्यपालिकाका सम्पूर्ण सदस्यसहित ३६ जनाको सहभागिता रहेको थियो। सहभागीहरूलाई स्थानीय तहमा लैङ्गिक उत्तरदायी सुशासनका सूचकहरू, समावेशी स्थानीय नीति निर्माणको प्रक्रिया तथा स्थानीय सरकारले महिला, बालबालिका, दलित, पिछडिएका तथा अन्य सीमान्तकृत समुदायलाई लक्षित गरी बजेट तथा कार्यक्रम निर्माण गर्नुपर्ने विषयमा छलफल तथा अभ्यास गराइएको थियो।

कार्यशालाको मुख्य उद्देश्य स्थानीय तहले निर्माण गर्ने नीति, योजना तथा बजेट वास्तवमै लैङ्गिक उत्तरदायी भए–नभएको कसरी पहिचान गर्ने र विकासका कार्यक्रमलाई महिला तथा पछाडि पारिएका समुदायको आवश्यकतासँग कसरी जोड्ने भन्ने विषयमा जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा स्थानीय तहले सडक, नाला लगायतका पूर्वाधारमा बजेट विनियोजन गर्दै त्यसलाई नै लैङ्गिक उत्तरदायी बजेटका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिमाथि समेत छलफल भएको थियो। सडक तथा नाला जस्ता पूर्वाधार सबै नागरिकका लागि आवश्यक भए पनि त्यसलाई मात्र लैङ्गिक उत्तरदायी बजेटका रूपमा बुझ्नु पर्याप्त नहुने सहभागीहरूको भनाइ थियो। महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, दलित तथा पिछडिएका समुदायका विशेष आवश्यकता पहिचान गरी लक्षित कार्यक्रम र बजेट निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो।

कार्यशालामा धारणा राख्दै फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीले महिला तथा बालबालिकालाई प्राथमिकतामा राखेर मात्र समुदायको समावेशी विकास सम्भव हुने बताए। विगतमा प्रयास हुँदाहुँदै पनि महिलाको क्षेत्रमा अपेक्षाअनुसार बजेट विनियोजन गर्न नसकिएको स्वीकार गर्दै उनले आगामी दिनमा महिला, बालबालिका तथा पिछडिएका वर्गमैत्री बजेट र कार्यक्रम निर्माणमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “महिला, बालबालिका र पछाडि पारिएका समुदायलाई विकासको मूलधारमा ल्याउन स्थानीय सरकार अझ जिम्मेवार भएर अघि बढ्नुपर्छ। आगामी दिनमा बजेट तथा कार्यक्रम निर्माण गर्दा उनीहरूको आवश्यकता र सहभागितालाई थप प्राथमिकता दिनेछौँ।”
कार्यक्रममा फेटा गाउँपालिकाका प्रतिनिधिहरूका साथै सखी संस्थाकी लेखा अधिकृत हैपी मिश्रा, सामुदायिक सहजकर्ता सुनिल कुशवाहा तथा सुधा कुमारी कुशवाहाको समेत उपस्थिति रहेको थियो।
कार्यशालाका सहभागीहरूले स्थानीय तहबाट प्रदान गरिने सेवा–सुविधालाई अझ प्रभावकारी, पहुँचयोग्य, समावेशी तथा लैङ्गिकमैत्री बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए। उनीहरूले नीति निर्माणदेखि बजेट विनियोजन र कार्यान्वयनसम्म महिला तथा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए।

कार्यशालाले स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई विकासलाई केवल भौतिक पूर्वाधार निर्माणमा सीमित नराखी महिला, बालबालिका तथा पछाडि पारिएका समुदायको जीवनमा प्रत्यक्ष सकारात्मक परिवर्तन ल्याउने गरी नीति, योजना र बजेट निर्माण गर्न प्रेरित गरेको आयोजकको विश्वास छ।

शेयर गर्नुहोस