रिलायन्स सुगर मिलको फोहोर पानी व्यवस्थापनका लागि समुदाय तथा युवासँग फलोअप संवाद सम्पन्न

संजय कुशवाहा
पाठक संख्या - 20
पढ्न लाग्ने समाय 3 मि.

कलैया । कलैयाको छोरी हिरामती कुशवाहाको नेतृत्वमा रिलायन्स सुगर मिलबाट निस्कने फोहोर पानीका कारण बगरी नदीमा भइरहेको प्रदूषण नियन्त्रण तथा व्यवस्थापनका लागि समुदाय तथा युवासँग फलोअप संवाद कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक परिवर्तन केन्द्रको आयोजनामा कलैया उपमहानगरपालिका–स्थित सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा बगरी नदी व्यवस्थापन तथा संरक्षण संघर्ष समितिका संयोजक श्यामसुन्दर पण्डित, Gen and Youth of Bara का युवा शौरभ पाण्डे, रास्वपाकी सदस्य नेहा चौधरी, सञ्चारकर्मी रमेश साह, समाजसेवी रविन्द्र पासवान, रास्वपा फेटाका प्रतिनिधि रामेश्वर प्रसाद कुशवाहा, उदय ठाकुर, राजन दास, किसान परमानन्द राउत लगायत १९ जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा रिलायन्स सुगर मिलबाट निस्कने फोहोरका कारण बगरी नदीको पानी पटक–पटक प्रदूषित भइरहेको विषयमा गम्भीर छलफल गरिएको थियो। सहभागीहरूले यसअघि जिल्ला प्रशासन कार्यालय, बारा तथा सम्बन्धित स्थानीय तहमा ज्ञापनपत्र बुझाएर समस्या समाधानका लागि आग्रह गरे पनि अपेक्षित चासो नदेखिएको गुनासो गरेका थिए।
छलफलमा बगरी नदी संरक्षण तथा प्रदूषण नियन्त्रणका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइयो। पटक–पटक आग्रह गर्दा पनि समस्या समाधान नभए समुदाय, युवा, किसान तथा सरोकारवालाहरू थप संगठित भएर शान्तिपूर्ण रूपमा कडा आन्दोलनमा उत्रिनुपर्ने धारणा सहभागीहरूले राखेका थिए।
कार्यक्रममा Gen and Youth of Bara का शौरभ पाण्डेले आगामी एक साताभित्र सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसबाट पनि समस्या समाधान नभए शान्तिपूर्ण रूपमा थप कडा आन्दोलन अघि बढाउने प्रतिबद्ध गर्नु भएको छ।
कलैयाको छोरी हिरामती कुशवाहाले नेपालको संविधान २०७२ को धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित गरेको उल्लेख गर्दै बगरी नदी संरक्षण सबैको साझा जिम्मेवारी भएको बताइन्। उनले जलचर तथा वातावरण संरक्षणसम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै समुदाय, युवा, किसान र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइन्।
उनले भनिन्, “बगरी नदी केवल पानी बग्ने ठाउँ होइन, यो यहाँका सस्कृती धार्मिक महत्त्व र किसान, समुदाय र जलचरको जीवनसँग जोडिएको साझा सम्पत्ति हो। नदी प्रदूषण रोक्न अब आश्वासन मात्र होइन, परिणाम देखिने गरी काम हुनुपर्छ।”
सरक्षण समिति सयोजक श्यामसुन्दर पण्डितले बगरी नदीमा भइरहेको प्रदूषणको दीर्घकालीन समाधान, स्वच्छ पानीको अधिकारको संरक्षण तथा सम्बन्धित निकायलाई जवाफदेही बनाउन समुदाय र युवाबीच थप सहकार्य गर्ने गरि अगाडि बढने बताए ।

शेयर गर्नुहोस