काठमाडौँ, मंसिर ८ : सरकारले देशभरका ४९ जिल्लामा ६ लाख १५ हजार १ सय ६१ जनालाई गरिब परिचयपत्र वितरण गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहसँग समन्वय गर्दै अति गरिबका लागि रातो, मध्यम गरिबका लागि पहेँलो र सामान्य गरिबका लागि नीलो कार्ड वितरण गरेको हो।
मन्त्रालयका सहायक प्रवक्ता दामोदर वाग्लेले गरिब परिचयपत्रले राज्यका सेवा–सुविधा एकद्वार प्रणालीबाट सहज रूपमा प्राप्त गर्न सहयोग गर्ने बताएका छन्। विगतमा गरिब लक्षित कार्यक्रमहरू एकीकृत नहुँदा दोहोरोपन र दुरुपयोग हुने समस्या देखिएकाले अबदेखि पालिकामार्फत परिचयपत्र वितरण व्यवस्था लागू गरिएको उनले बताए।
बाँकी १५ जिल्लामा पहिचान भइसकेका करिब २ लाख व्यक्तिका कार्ड छपाई सकिने क्रममा छन् भने १३ जिल्लामा गरिबी पहिचान सर्वेक्षण सम्पन्न भइसकेकाले वितरण प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ।
परिचयपत्र प्राप्त गरेका परिवारलाई सीप विकास, शिक्षा र स्वास्थ्य पहुँच, खाद्य सुरक्षाजस्ता कार्यक्रम तीनै तहका सरकारको सहकार्यमा सञ्चालन गरिनेछ। गरिब पहिचानका लागि १८ सूचक प्रयोग गरिएको र सम्पूर्ण प्रक्रियामा करिब एक अर्ब रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ।
