राजधानीका विभिन्न स्थानबाट ६ जना लागूऔषधसहित पक्राउ

सखीखबर डट कम
पाठक संख्या - 289
पढ्न लाग्ने समाय 2 मि.

काठमाडौंका विभिन्न स्थानमा गरिएको सुरक्षा अभियानअन्तर्गत प्रहरीले अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। गोंगबु, टोखा र माकालबारी क्षेत्रमा प्रहरीले छुट्टाछुट्टै कारबाही गर्दै विभिन्न प्रकारका अवैध पदार्थ, नगद र औजार बरामद गरेको हो।

काठमाडौं महानगरपालिका-२६, गोंगबु मित्रनगरस्थित न्यू दाङ बर्दिया होटल एण्ड लज को कोठा नम्बर २०१ मा तलासी गर्दा ५२० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ, ९ हजार ५ सय रुपैयाँ नगद र डिजिटल तराजु सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बाँके कोहलपुर–२ का भुपेन्द्र कुमार बुढा र तनहुँ बन्दिपुर–१ का मनिष गुरूङ रहेका छन्। उनीहरूलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै, टोखा नगरपालिका–९, गोंगबु कुलान्त मार्गस्थित नमस्ते नेपाल गेष्ट हाउसमा गरिएको छापामा १ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरू धादिङ नीलकण्ठ–३ का किशोर मगर, नीलकण्ठ–७ का कपिल खाती र डोटी पूर्वीचौकी–३ का लोकेन्द्र खड्का रहेका छन्। उनीहरूलाई प्रहरी प्रभाग गोंगबुको टोलीले नियन्त्रणमा लिएको हो।

त्यसैगरी, गोकर्णेश्वर नगरपालिका–८, माकालबारीबाट फेनारगन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र नोर्फिन १५ एम्पुलसहित सोही स्थान बस्ने, मूल घर सिन्धुपाल्चोक भोटेचौरका सालिकराम खतिवडालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका सबैलाई लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

शेयर गर्नुहोस