काठमाडौँ :राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंसिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर कुल २० वटा विपद्का घटनाका विवरण दर्ता भएका छन्। तीमध्ये १७ वटा आगलागीका घटनामात्रै रहेका छन्, जसबाट रु ८२ लाख ९१ हजार बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।
बाँकी तीन विपद्का घटनामा मुस्ताङमा लागेको लेक, महोत्तरीमा सर्पदंश तथा पर्सामा जनावरको आक्रमण समावेश छन्। पर्सागढी नगरपालिका–३ झुलिटारकी ५५ वर्षीया एक महिला जंगलमा घाँस काट्न जाने क्रममा बाघको आक्रमणबाट घाइते भएकी थिइन्।
देशका विभिन्न स्थानमा दर्ता भएका आगलागीका घटनामध्ये सिरहामा तीन, भोजपुरमा दुई तथा पाँचथर, मोरङ, उदयपुर, सप्तरी, रौतहट, बारा, पर्सा, ललितपुर, कास्की, कपिलवस्तु, गुल्मी र बाँकेमा एक–एक घटना भएका थिए।
प्राधिकरणले अधिकांश आगलागी असावधानीका कारण भएको निष्कर्ष निकालेको छ। गाईगोठमा खोले पकाउँदा, सुँगुरलाई चारो तताउँदा, ग्यास चुलोबाट आगो ताप्दा, विद्युत् सर्ट हुँदा तथा विद्युतीय सवारी साधनमा अचानक आगो लाग्दा घटना भएको जनाएको छ।
सामान्य सावधानी अपनाएमा यस्ता दुर्घटना रोक्न सकिने हुँदा जनचेतनाको अभाव एक मुख्य कारणका रूपमा देखिएको प्राधिकरणको भनाइ छ।
