माघ ११, सर्लाही : सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका–३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ। हालसम्म दादुरा सङ्क्रमणबाट प्रभावित सात जना बिरामी फेला परेका छन्।
स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले मलङ्गवा–३ मा दादुरा फैलिएको पुष्टि गर्दै सङ्क्रमणको आशङ्का गरिएका २२ जनालाई उनीहरूकै घरमा निगरानीमा राखिएको जानकारी दिए। दादुरा रोग तीव्र गतिमा फैलिने भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन उनले सर्वसाधारणलाई आग्रह गरे।
बालबालिकालाई दादुराबाट जोगाउन र थप सङ्क्रमण रोक्न माघ १२ देखि माघ १६ गतेसम्म मलङ्गवामा विशेष खोप अभियान सञ्चालन गरिने डा. झाले बताए। अभियानअन्तर्गत मलङ्गवा नगरपालिका वडा नं. ३, २, ४, ८, ९ र १० का ६ महिनादेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइनेछ।
मलङ्गवा नगरपालिका स्वास्थ्य शाखाले अभिभावकलाई नजिकैको खोप केन्द्रमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरेको छ। समयमै खोप लगाउँदा दादुराजस्तो सङ्क्रामक रोगबाट सुरक्षित रहन सकिने स्वास्थ्य कार्यालयको विश्वास रहेको छ।
मलङ्गवा–३ मा दादुरा फैलियो, सात संक्रमित भेटिए, विशेष खोप अभियान सुरु हुने
शेयर गर्नुहोस
