कलैयामा किशोरीहरूलाई STEM शिक्षा र कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी १दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

संजय कुशवाहा
पाठक संख्या - 145
पढ्न लाग्ने समाय 4 मि.

कलैया, बारा: FREE STEM FUND को आर्थिक सहयोग तथा सखी : महिलाको साथी संस्थाको सहजीकरणमा सञ्चालित Free STEM Education and Training Project अन्तर्गत कलैया उपमहानगरपालिका–२०, बस्तपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा STEM Education तथा Artificial Intelligence (AI) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का करिब ५५ जना किशोरीको सहभागितामा आयोजित कार्यक्रममा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (STEM) शिक्षाका साथै पछिल्लो समय तीव्र रूपमा विकास भइरहेको कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिबारे आधारभूत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता विद्यालयका शिक्षक शिवप्रसाद साहले गरेका थिए भने प्रमुख अतिथिका रूपमा कलैयाकी छोरी तथा सामाजिक अभियन्ता हिरामती कुशवाहाको उपस्थिति रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा इन्जिनियर अभिषेक कुशवाहा र वडा सदस्य केदार साह सहभागी थिए।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि इन्जिनियर अभिषेक कुशवाहाले वर्तमान शिक्षा प्रणालीमा प्रविधि र Ai को भूमिका बढ्दै गएको उल्लेख गर्दै किशोरीहरूलाई समयअनुकूल सीप र प्रविधिसँग जोड्नुपर्ने आवश्यकता औँल्याए।
प्रमुख अतिथि हिरामती कुशवाहाले STEM शिक्षा पाठ्यपुस्तकमा सीमित विषय नभई विद्यार्थीमा वैज्ञानिक सोच, समस्या समाधान गर्ने क्षमता, सिर्जनशीलता र नवीन प्रविधिको प्रयोग गर्ने दक्षता विकास गर्ने माध्यम भएको बताइन्।

उनले विशेषगरी किशोरीहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा अगाडि बढाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै भनिन्, “आजको पुस्ताले प्रविधिलाई बुझ्न र सही ढंगले प्रयोग गर्न सक्नुपर्छ। AI लगायतका नयाँ प्रविधि भविष्यको शिक्षा, रोजगारी र उद्यमशीलतासँग जोडिँदै गएका छन्। किशोरीहरूलाई अवसर, सीप र प्रविधिको पहुँच उपलब्ध गराउन सके उनीहरू भविष्यमा नेतृत्वदायी भूमिकामा पुग्न सक्छन्।”
कार्यक्रममा सखी : महिलाको साथी संस्थाका कार्यक्रम संयोजक तथा IT प्रशिक्षक इन्जिनियर पवनकुमार बर्नवालले प्रशिक्षण तथा सहजीकरण गरेका थिए। उनले विद्यार्थीहरूलाई STEM शिक्षाको अवधारणा, डिजिटल प्रविधिको प्रयोग र AI का आधारभूत पक्षबारे जानकारी गराएका थिए।

प्रशिक्षणका क्रममा AI के हो, दैनिक जीवन तथा शिक्षामा यसको प्रयोग कसरी गर्न सकिन्छ, नयाँ प्रविधिको सही र जिम्मेवार प्रयोग किन आवश्यक छ तथा अध्ययन र भविष्यको करियरमा प्रविधिलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो।
प्रशिक्षक बर्नवालले AI लाई मनोरञ्जन वा सामान्य जानकारी प्राप्त गर्ने माध्यमका रूपमा मात्र नहेरी अध्ययन, अनुसन्धान, सिर्जनशीलता र समस्या समाधानका लागि उपयोग गर्नुपर्नेमा जोड दिए। साथै, प्रविधिको प्रयोग गर्दा तथ्यको प्रमाणीकरण, व्यक्तिगत गोपनीयता र जिम्मेवारीप्रति सचेत रहन विद्यार्थीहरूलाई आग्रह गरे।
कार्यक्रमको सहजीकरण जुगली दासले गरेको थियोे । उनले प्रश्नोत्तर तथा अन्तरक्रियामार्फत विद्यार्थीहरूलाई सक्रिय सहभागिताका लागि प्रेरित गरेकी थियो ।कार्यक्रममा सहभागी किशोरी राधिका साह र सुस्मिता यादवले STEM तथा AI सम्बन्धी विषयमा विभिन्न जिज्ञासा राखेका थिए। उनीहरूले प्रविधि, कृत्रिम बुद्धिमत्ता, अध्ययन तथा भविष्यमा यसबाट प्राप्त हुन सक्ने अवसरबारे प्रश्न गरेका थिए। प्रशिक्षकले व्यवहारिक उदाहरणसहित उनीहरूका जिज्ञासाको जवाफ दिएका थिए।

यसै क्रममा वडा सदस्य केदार साहले आफ्नै गाउँका किशोरीहरूसँग खुलेर संवाद गर्दै बालबालिकाले भोगिरहेका समस्या, आवश्यकता र चुनौतीबारे चासो व्यक्त गरेका थिए। उनले स्थानीय स्तरमा बालबालिका तथा किशोरीका समस्या पहिचान गरी समाधानका लागि संवाद र सहकार्य आवश्यक रहेको बताए।कार्यक्रमको समापन गर्दै अध्यक्षता गरेका शिक्षक शिवप्रसाद साहले आयोजक संस्था, प्रशिक्षक, अतिथि तथा सहभागी सम्पूर्ण टोलीलाई धन्यवाद व्यक्त गरे।
FREE STEM FUND को आर्थिक सहयोग तथा सखी : महिलाको साथी संस्थाको सहजीकरणमा सञ्चालित Free STEM Education and Training Project ले विशेषगरी किशोरी तथा युवतीहरूलाई आधुनिक विज्ञान, प्रविधि र डिजिटल सीपसँग जोड्ने लक्ष्य राखेको छ।

परम्परागत शिक्षासँगै कम्प्युटर, डिजिटल सीप, STEM शिक्षा तथा AI सम्बन्धी ज्ञान प्रदान गर्न सके किशोरीहरूको आत्मविश्वास, क्षमता र भविष्यमा रोजगारी तथा उद्यमशीलताका अवसर विस्तार हुने आयोजकहरूको विश्वास छ।कार्यक्रममा सहभागी किशोरीहरूले STEM र AI सम्बन्धी अभिमुखीकरणबाट नयाँ प्रविधिबारे बुझ्ने अवसर प्राप्त भएको प्रतिक्रिया दिँदै आगामी दिनमा पनि यस्ता व्यवहारिक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।विद्यालय तहबाटै किशोरीहरूलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ताको बदलिँदो संसारसँग परिचित गराउने यस कार्यक्रमले ग्रामीण तथा अर्धशहरी क्षेत्रका छात्राहरूलाई डिजिटल युगका अवसरसँग जोड्न सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस