बारा प्रहरीका अनुसार बुधबार मध्यराती २७ वर्षीय रामेश्वर महतो मण्डल र उनकी आमा ४८ वर्षीय सुमित्राको हत्या भएको थियो।
मृतक रामेश्वरकी पत्नी मनिताको योजनामा उनका बिहेपछिका प्रेमी धर्मेन्द्र महतोसहितको संलग्नतामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुलेको हो।
प्रहरीले मनितालाई घरबाटै पक्राउ गरेको थियो।
घटनामा मनिताकी २० वर्षीया नन्द रीना कुमारी मण्डल र ५४ वर्षीय ससुरा जगरुप महतो गम्भीर घाइते भएका छन्। उनीहरू प्रतिकारको क्रममा घाइते भएको पनि अनुसन्धानमा खुलेको छ। घाइतेहरूको परवानीपुर एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले आरोपी तथा योजनकार मनितासहित उनको सहयोगी भएको आरोपमा प्रसौनी गाउँपालिका–७ बन्जरिया का २७ वर्षीय धर्मेन्द्र महतोलाईसमेत पक्राउ गरेको छ।
धर्मेन्द्र वैदेशिक रोजगारीबाट केही महिनाअघि घर आएका थिए। मनिता गत साउनदेखि घर छाडेर हिँडेकी थिइन्।
उनी माइती समेत नगइ काठमाडौंमा बस्थिन्। मनिता र रामेश्वरका दुई छोरी छन्। मनिता छोरीहरू घरमै छाडेर काठमाडौं आएकी थिइन्। उनलाई मंसिरमा घर फर्काइएको थियो।
गाउँमा हल्ला भएपछि छिमेकीहरू पुग्दा घरमा २ लाश र २ जना गम्भीर घाइतेको बीचमा फेला परेकी मनितालाई भने केही भएको थिएन। धर्मेन्द्रलाई वीरगञ्जबाट पक्राउ गरिएको थियो।
