घरेलु विधिबाट धानको बीउ उपचार गर्न कृषि प्राविधिक कुश्वाहाको सुझाव

सखीखबर डट कम
पढ्न लाग्ने समाय 2 मि.

बारा, फागुन २९ : कृषिमा राम्रो उत्पादन प्राप्त गर्न गुणस्तरीय बीउको प्रयोग अत्यन्त महत्वपूर्ण हुने र बीउमा हुने रोग तथा कमजोर दानाहरू हटाउन घरेलु विधिबाट बीउ उपचार गर्न सकिने फेटा गाउँपालिकाका कृषि प्राविधिक सन्जय कुश्वाहाले बताएका छन्।
उनका अनुसार घरेलु विधिअनुसार सबैभन्दा पहिले अन्नबालीका रोगी र निरोगी बीउहरू छुट्याउनुपर्छ। एउटै नासका तथा एउटै आकार भएका बीउहरूलाई घाममा राम्ररी सुकाउने, बत्याउने र सफा गर्ने प्रक्रिया अपनाउनुपर्छ। यसरी प्रारम्भिक रूपमा बीउ छनोट गर्दा स्वस्थ बीउ प्रयोग गर्न सहज हुने उनले बताए।


धानको बीउ उपचारका लागि तीन लिटर पानीमा मसिनो धानका लागि करिब ५०० ग्राम र मोटो धानका लागि करिब ६०० ग्राम नुन हालेर बाल्टिनमा राम्ररी घोल तयार गर्नुपर्छ। त्यसपछि उक्त नुनपानीमा एउटा अण्डा हालेर परीक्षण गर्नुपर्छ। अण्डा माथि तैरिएमा घोल ठीक भएको मानिन्छ र अण्डा हटाएर बीउ उपचार प्रक्रिया सुरु गर्न सकिन्छ।
तयार गरिएको घोलमा करिब एक किलोग्राम धानको बीउ हालेर केही समय चलाउनुपर्छ। त्यसपछि १ देखि ३ मिनेटसम्म बीउलाई तैरन वा थिग्रिन दिनुपर्छ। यस प्रक्रियामा नराम्रो र फुस्रो दानाहरू पानीमा तैरिन्छन् भने राम्रो र पोसिलो बीउहरू तल थिग्रिन्छन्।
त्यसपछि तैरिएका बीउहरू हटाएर तल थिग्रिएका बीउहरू मात्र प्रयोग गर्नुपर्छ। ती बीउहरूलाई सफा पानीले कम्तीमा दुई पटक पखालेर सुकाउनुपर्छ। त्यसपछि कर्बेन्डाजिम २ ग्राम प्रति के.जी. बीउको दरले उपचार गरी मात्र ब्याडमा राख्नुपर्ने कृषि प्राविधिक कुश्वाहाले बताए।
उनले किसानहरूलाई धान रोप्नु अघि अनिवार्य रूपमा बीउ उपचार गर्न आग्रह गर्दै यस विधिले बीउमा लाग्ने रोगको सम्भावना घट्ने र स्वस्थ बिरुवा उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।