भ्याक्सिनेटरको भुक्तानीमा २० प्रतिशत घूस मागेको आरोपमा कार्यालय प्रमुख र चालक अख्तियारको नियन्त्रणमा

सखीखबर डट कम
पाठक संख्या - 4
पढ्न लाग्ने समाय 1 मि.

सप्तरी, २५असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराजस्थित भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र सवारी चालक भोगेन्द्र यादवलाई घूस रकमसहित नियन्त्रणमा लिएको छ।
अख्तियारका अनुसार भ्याक्सिनेटरहरूले सेवा उपलब्ध गराएबापत पाउनुपर्ने भुक्तानी रकमबाट २० प्रतिशत कमिसन (घूस) माग गरिएको भन्ने उजुरीपछि आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले विशेष निगरानी गरेको थियो।
सो क्रममा सवारी चालक भोगेन्द्र यादवलाई घूसबापतको ३३ हजार ३५० रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
खानतलासीका क्रममा यादवको साथबाट स्रोत नखुलेको थप ४८ हजार ७० रुपैयाँ नगद तथा १ लाख २९ हजार रुपैयाँ बराबरका चार वटा चेक समेत बरामद भएको छ। त्यसैगरी, निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दासको कार्यकक्षबाट १ लाख २५ हजार रुपैयाँको चेक र एक थान मोबाइल फोन बरामद गरिएको अख्तियारले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार घूस रकम, नगद तथा चेकसहित नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।

शेयर गर्नुहोस