कलैयामा दीप प्रज्वलन गर्दै गणेश नेपालीप्रति श्रद्धाञ्जली, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

सखीखबर डट कम
पाठक संख्या - 8
पढ्न लाग्ने समाय 1 मि.

बारा, कलैया, २६ असार। आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कलैयाका युवाहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार साँझ कलैया उपमहानगरपालिकाको मुख्य चौक भरत चौकमा आयोजित दीप प्रज्वलन कार्यक्रममा ठूलो संख्यामा सहभागी भएका युवाहरूले मैनबत्ती बालेर दिवङ्गत गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।
कार्यक्रममा सहभागी युवाहरूले उक्त घटनाले सम्पूर्ण युवापुस्तालाई स्तब्ध बनाएको उल्लेख गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरे।
उनीहरूले स्वर्गीय गणेश नेपालीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे। साथै, न्याय, पारदर्शिता र जवाफदेहिताको सुनिश्चितताका लागि राज्यले निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याए।
आयोजक पक्षका अनुसार श्रद्धाञ्जली कार्यक्रम कुनै राजनीतिक दल वा संगठनको नभई स्वतःस्फूर्त रूपमा विभिन्न क्षेत्रका युवाहरूको सहभागितामा आयोजना गरिएको हो। कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।

 

शेयर गर्नुहोस