फेटा (बारा), साउन ५: SHAKHI: Friends of Women ले Women Win को आर्थिक सहयोगमा सञ्चालन गरिरहेको FREE STEM Fund Project अन्तर्गत एकदिने अभिमुखीकरण तथा समन्वय बैठक सम्पन्न गरेको छ। फेटा गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखाको तालिम हलमा आयोजित कार्यक्रममा वडा नं. २ का अध्यक्ष नरेश पटेल, इन्जिनियर जाकिर हुसेन अन्सारी, प्रमुख प्रशासकीय अधिकृत सुनिल साह, शिक्षा शाखा प्रमुख श्याम साह तथा गाउँपालिकाका विभिन्न शाखाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।र कार्यक्रमको सहकार्य सखी महिलाको साथीको प्रतिनिधि जुगली दास र सुधा कुश्वाहा रहेको थियो ।
बैठकमा परियोजनाको उद्देश्य, कार्ययोजना तथा आगामी दुई वर्षसम्म सञ्चालन गरिने प्रमुख गतिविधिबारे विस्तृत जानकारी गराइएको थियो। SHAKHI: Friends of Women का प्रतिनिधि पवन कुमार बर्णनवालका अनुसार परियोजनामार्फत किशोरी तथा युवा महिलाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित (STEM) शिक्षा, डिजिटल सीप, नेतृत्व विकास तथा सहभागितामूलक अवसर उपलब्ध गराई उनीहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। कार्यक्रमका क्रममा कम्प्युटर प्रयोगशालाको सुदृढीकरण, आधारभूत कम्प्युटर तालिम, लेखा सफ्टवेयर तालिम तथा स्थानीय तहसँगको सहकार्यमार्फत परियोजनाको दिगोपन सुनिश्चित गर्ने विषयमा समेत छलफल गरिएको थियो।
सहभागीहरूले परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकार, विद्यालय, समुदाय तथा सरोकारवाला निकायबीच सुदृढ समन्वय र साझेदारी आवश्यक रहेको धारणा व्यक्त गरे। उनीहरूले यस परियोजनाले फेटा गाउँपालिकाका किशोरी तथा युवा महिलाहरूको डिजिटल पहुँच विस्तार, प्राविधिक सीप विकास तथा नेतृत्व क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। आयोजकका अनुसार आगामी दुई वर्षसम्म परियोजनाअन्तर्गत विभिन्न विद्यालय तथा समुदायमा STEM शिक्षा, डिजिटल सशक्तीकरण र नेतृत्व विकाससँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रमको समापन गर्दै वडा नं. २ का अध्यक्ष नरेश पटेलले परियोजनाको सफल कार्यान्वयनका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गरे। साथै, सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी गतिविधिहरूमा निरन्तर सहकार्य र साझेदारीका लागि आग्रह गरिएको थियो।
