काठमाडौं : निर्वाचन आयोगले विद्यार्थीमा लोकतान्त्रिक संस्कृतिको विकास तथा निर्वाचनप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिरहेको निर्वाचन शिक्षा कार्यक्रमलाई थप विस्तार गर्ने भएको छ।
यसअघि मंगलबार काठमाडौंको तारकेश्वर नगरपालिकाका विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीलाई निर्वाचन शिक्षा कार्यक्रममा सहभागी गराइएको थियो। कार्यक्रममा विद्यार्थीलाई निर्वाचनसम्बन्धी आधारभूत अवधारणा, मतदान प्रक्रिया तथा लोकतान्त्रिक संस्कृतिको विकासमा युवाको भूमिकाबारे अभिमुखीकरण प्रदान गरिएको थियो।
त्यसैगरी, आयोगले हालै ललितपुरको कुपण्डोलस्थित नाइटिङ्गेल इन्टरनेशनल स्कुलमा पुगेर पनि विद्यालयमै निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो। उक्त कार्यक्रममा विद्यार्थीलाई निर्वाचन प्रणाली, मताधिकारको महत्व र जिम्मेवार नागरिकको भूमिकासम्बन्धी विविध विषयमा जानकारी दिइएको थियो।
आयोगका अनुसार चालु आर्थिक वर्षदेखि सुरु गरिएको यस नयाँ अभ्यासलाई आगामी दिनमा प्रदेश निर्वाचन कार्यालयसम्म विस्तार गरिनेछ। साथै, प्रदेश कार्यालयहरूमा सेवा वडापत्रसमेत पठाइने तयारी गरिएको छ।
हाल निर्वाचन आयोगको केन्द्रीय कार्यालयका साथै विराटनगर, पोखरा, धनगढी र सुर्खेतस्थित सूचना केन्द्रमार्फत निर्वाचन शिक्षा कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेको आयोगले जनाएको छ। आयोगले यस्ता कार्यक्रममार्फत युवापुस्तामा लोकतान्त्रिक मूल्य–मान्यता र जिम्मेवार नागरिक चेतनाको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
निर्वाचन शिक्षा कार्यक्रम विद्यालयबाट प्रदेशसम्म विस्तार गरिने
शेयर गर्नुहोस
