कलैया श्रावण २४: कलैया उपमहानगरपालिका–२७, बिजुलपुरमा भौतिक पूर्वाधार तथा स्थानीय समस्याबारे नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ। कलैयाको छोरी तथा महिला नेतृ हिरामती कुशवाहाको नेतृत्वमा आयोजित संवाद कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को रायट समूहका जिल्ला अध्यक्ष मनोज साहको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा हिरामती कुशवाहा, अतिथिका रूपमा वडा सदस्य आलम अहमद, रास्वपा वडा सभापति सन्तोष गिरीलगायत स्थानीय भद्रभलादमी, समाजसेवी, युवा तथा सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। संवादमा ४९ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
संवादका क्रममा स्थानीयवासीले खानेपानी, अव्यवस्थित सडक, नाला तथा सरसफाइ, विद्युत्, सिँचाइ, शौचालय, गरिबी, महिला तथा बालिकाको अधिकार, लागुऔषधको समस्या र युवाका लागि खेलमैदान तथा खेलाडीको सुरक्षालगायतका विषय उठाएका थिए।
स्थानीय मुनिलाल साहले कलैया उपमहानगरपालिकाको नजिकै भए पनि बिजुलपुरका बासिन्दाले खानेपानी, सडक तथा गरिबीका कारण नारकीय जीवन बिताउनुपरेको गुनासो गरे। रिना देवीले चुनावका बेला विकासका वाचा गरिए पनि गाउँका नाला भरिँदा सरसफाइका लागि प्रभावकारी पहल हुन नसकेको बताइन्। उनले छोरीहरूको अधिकार र स्वतन्त्रतासम्बन्धी विषयलाई समेत प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।

त्यस्तै, बिगनी देवीले विद्युत्, सिँचाइ र शौचालयको समस्या उठाइन्। सयादा खातुनले लागुऔषधको असरमा परेका युवालाई त्यसबाट बाहिर निकाल्न आवश्यक पहल गर्नुपर्ने जिज्ञासा राखिन्। युवा जेन जि किसान साहले गाउँस्तरका खेलाडीका लागि खेलमैदानको अभाव तथा खेलाडीको सुरक्षाको समस्या रहेको बताए। ललिता देवी रामले आफूले भोगेका व्यक्तिगत तथा सामाजिक समस्याबारे कार्यक्रममा आफ्नो धारणा राखिन्।

कार्यक्रममा उठेका समस्याको समाधानका लागि तीनै तहका सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै हिरामती कुशवाहाले स्थानीयस्तरमा टोल सुधार समिति गठन गरी वडा, नगरपालिका, प्रदेश तथा संघीय कार्यालयसँग कानुनअनुसार समन्वय र पहल गर्ने बताइन्। उनले नागरिकले उठाएका सवाललाई प्राथमिकताका साथ सम्बन्धित निकायसम्म पुर्याएर समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता जनाइन्।

रास्वपा वडा सभापति सन्तोष गिरीले गाउँ–ठाउँका समस्या सामूहिक रूपमा वडा कार्यालयमा पहल गर्दा समाधान गर्न सहज हुने बताए। वडा सदस्य आलम अहमदले संवादमा उठेका स्थानीय समस्याको समाधानका लागि वडा कार्यालयदेखि नगरपालिका तहसम्म आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका अध्यक्ष तथा रास्वपा रायट समूहका जिल्ला अध्यक्ष मनोज साहले स्थानीय समस्या पहिचानसँगै सम्बन्धित निकायसँग समन्वय गरी समाधानको बाटो खोज्न आफूहरू तयार रहेको बताए।
कार्यक्रम सम्पन्न भएको जानकारी सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिक्की कुशवाहाले दिएका हुन्।

बिजुलपुरमा भौतिक पूर्वाधारसहित स्थानीय समस्याबारे संवाद, हिरामती कुशवाहाले गरिन् तीनै तहका सरकारसँग सहकार्यको प्रतिबद्धता
शेयर गर्नुहोस
