बारा, फेटा भदौ ४। महिला तथा किशोरीहरूको अधिकार, सुरक्षा, स्वास्थ्य, शिक्षा र आर्थिक सशक्तीकरणका लागि आवश्यक बजेट विनियोजन गर्न माग गर्दै फेटा महिला सञ्जालले फेटा गाउँपालिकाको अध्यक्ष रुस्तम अन्सारीलाइ ज्ञापनपत्र बुझाएको छ।

HAMRO SAHAS परियोजनाअन्तर्गत गठित फेटा महिला सञ्जालले संयोजक प्रभावती दासको नेतृत्वमा गाउँपालिकाका अध्यक्षसमक्ष ज्ञापनपत्र बुझाउँदै आगामी नीति, कार्यक्रम तथा बजेटमा महिला तथा किशोरीका सवाललाई प्राथमिकतामा राख्न माग गरेको हो।
ज्ञापनपत्रमा महिला तथा किशोरीका लागि छुट्टै र पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, सीमान्तकृत महिलाको आर्थिक सशक्तीकरण तथा रोजगारीका लागि सीपमूलक तालिम, उपकरण, उद्यम विकास, बजार पहुँच र बीउपुँजीको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
त्यसैगरी बालविवाह, घरेलु हिंसा, लैङ्गिक हिंसा, दाइजो प्रथा, यौन हिंसा तथा साइबर हिंसा रोकथामका लागि समुदाय र विद्यालयस्तरमा अभियान सञ्चालन गर्नुपर्ने माग गरिएको छ। हिंसा प्रभावित महिला तथा किशोरीका लागि गोपनीय गुनासो सुनुवाइ, मनोसामाजिक परामर्श, कानुनी सहायता, उद्धार तथा सुरक्षित आश्रयको व्यवस्था गर्न पनि सञ्जालले माग गरेको छ।

महिला तथा किशोरीको स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिँदै यौन तथा प्रजनन स्वास्थ्य, मर्यादित महिनावारी, पोषण र मानसिक स्वास्थ्यसम्बन्धी सेवा विस्तार गर्नुपर्ने तथा विद्यालयमा किशोरीमैत्री शौचालय, स्वच्छ पानी, महिनावारी सामग्री, परामर्श र छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।

त्यस्तै, स्थानीय तहको योजना छनोटदेखि बजेट निर्माण, कार्यान्वयन, अनुगमन र सामाजिक परीक्षणसम्म महिला सञ्जाल तथा किशोरी समूहका प्रतिनिधिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको छ। महिला सञ्जालले उठाएका सवालमा नियमित संवादका लागि गाउँपालिकासँग स्थायी समन्वय संयन्त्र स्थापना गर्नसमेत आग्रह गरिएको छ।

फेटा महिला सञ्जालले यी मागहरू महिला तथा किशोरीको जीवनमा वास्तविक, न्यायपूर्ण र दिगो परिवर्तन ल्याउन आवश्यक रहेको भन्दै आगामी नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकताका साथ समावेश गरी आवश्यक बजेट विनियोजन गर्न गाउँपालिकासँग अनुरोध गरेको जनाएको छ।
