फेटामा कक्षा १० का किशोरीका लागि कोचिङ छात्रवृत्ति, सखी:महिलाको साथी सस्थाले माग्यो आवेदन

संजय कुशवाहा
पाठक संख्या - 147
1
पढ्न लाग्ने समाय 1 मि.

बारा । फेटा गाउँपालिका–१ मा बसोबास गर्ने कक्षा १० मा अध्ययनरत किशोरीहरूका लागि ‘सखीः महिलाको साथी’ संस्थाले कोचिङ शुल्क सहयोगस्वरूप छात्रवृत्ति उपलब्ध गराउने भएको छ।

संस्थाले २०८३ भदौ ३० गते सूचना प्रकाशित गर्दै छात्रवृत्तिका लागि इच्छुक किशोरीहरूबाट आवेदन आह्वान गरेको हो। आर्थिक अभावका कारण किशोरीहरूको पढाइमा बाधा नपरोस् र शिक्षामा पहुँच तथा निरन्तरता बढोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको संस्थाले जनाएको छ।

छात्रवृत्तिअन्तर्गत किशोरीहरूले अध्ययन गरिरहेको कोचिङ सेन्टरमा पढाउने शिक्षकहरूको कोचिङ शुल्क सखीले तिरिदिने जनाइएको छ। आवेदन दिँदा कोचिङ सेन्टरको नाम, अध्ययनरत विषय, शिक्षकहरूको संख्या तथा सम्बन्धित शुल्कको विवरण खुलाउनुपर्नेछ।

इच्छुक किशोरीहरूले सखीको कार्यालय, फेटा गाउँपालिका–१ मा उपस्थित भएर आवेदन फारम भर्नुपर्नेछ। आवेदन फारम तथा आवेदन प्रक्रिया पूर्ण रूपमा निःशुल्क रहेको संस्थाले जनाएको छ। कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आवेदन दिन सकिनेछ।

आवेदन बुझाउने अन्तिम म्याद २०८३ असोज ७ गतेसम्म तोकिएको छ। संस्थाले दलित, आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय तथा अपाङ्गता भएका किशोरीहरूलाई समेत आवेदन दिन विशेष आग्रह गरेको छ।

संस्थाले छात्रवृत्ति कार्यक्रममार्फत आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन सक्ने किशोरीहरूलाई सहयोग पुग्ने अपेक्षा गरेको छ।

“आर्थिक अभावले पढाइ नरोकियोस्—हरेक किशोरीको सपना अगाडि बढोस्!” भन्ने नारासहित सञ्चालन गर्न लागिएको कार्यक्रमका सम्बन्धमा थप जानकारीका लागि ९७४८३२८२७३३ मा सम्पर्क गर्न सकिनेछ।

शेयर गर्नुहोस