इनर्वा टोलमा खानेपानी र सडकमा जम्ने पानीको समस्या समाधानका लागि संवाद सप्पन्न

संजय कुशवाहा
पाठक संख्या - 117
पढ्न लाग्ने समाय 2 मि.

कलैया श्रावण २३ । कलैया उपमहानगरपालिका–१९ स्थित इनर्वा टोलमा सडकमा पानी जम्ने तथा खानेपानीको अभावलगायत स्थानीय समस्याका विषयमा सरोकारवालाबीच संवाद कार्यक्रम सम्पन्न भएको छ।

सामाजिक परिवर्तन केन्द्रको सहयोगमा आयोजित कार्यक्रम वडा सदस्य बलिस्टर पटेलको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कलैयाकी छोरी तथा महिला नेतृ हिरामती कुशवाहा, समाजसेवी श्रीराम पाण्डे, समाजसेवी महिला ललितदेवी पासवान, युवा नेता जयराम पण्डित, टोलका भद्रभलाद्मी तथा सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधिसहित ५१ जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीयले सडकमा पानी जम्ने, खानेपानीको अभाव, कृषि क्षेत्रमा रासायनिक मलको समस्या लगायतका विषय उठाएका थिए। छलफलका क्रममा समाजसेवी श्रीराम पाण्डेले कृषि प्रधान देशमा रासायनिक मलको अभाव र महँगो मूल्यमा बिक्री–वितरण हुँदा किसानहरू समस्यामा परेको बताए।
त्यस्तै, समाजसेवी महिला ललितदेवी पासवानले खानेपानीका लागि जडान गरिएको डिप बोरिङको मोटर बिग्रिएका कारण पानीको समस्या उत्पन्न भएको बताउँदै मोटर मर्मत तथा उचित व्यवस्थापन गरे समस्या समाधान गर्न सकिने धारणा राखिन्।

युवा नेता जयराम पण्डितले सडकमा पानी जम्ने समस्या पटक–पटक वडा कार्यालयमा जानकारी गराउँदा पनि अपेक्षित चासो नदेखाइएको गुनासो गरे। उनले वर्षायाममा स्थानीयवासीलाई आवतजावतमा समेत समस्या हुने भएकाले समस्या समाधानका लागि तत्काल पहल आवश्यक रहेको बताए।
कार्यक्रममा उठेका समस्याको दीर्घकालीन समाधानका लागि कलैयाकी छोरी तथा महिला नेतृ हिरामती कुशवाहाले टोल सुधार समिति वा खानेपानी उपभोक्ता समिति गठन गरी वडा कार्यालय र कलैया उपमहानगरपालिकासँग समन्वय गरेर अघि बढ्नुपर्ने बताइन्।
उनले रासायनिक मल वितरणलाई समेत पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै सम्बन्धित वडामा आवश्यकताअनुसारका डिलरलाई तोकिएको कार्यक्षेत्रमा मल वितरण भए–नभएको, बिक्री मूल्य सार्वजनिक गरी बिक्री–वितरण गरिएको छ कि छैन भन्ने विषयमा अनुगमन गर्न रासायनिक मल वितरण व्यवस्थापन समितिलाई अनुरोध गर्ने बताइन्। साथै आगामी दिनमा किसानको क्षेत्रफल तथा वास्तविक खेतीयोग्य जमिनका आधारमा र भाडामा जग्गा लिएर खेती गर्ने किसानले समेत सहज रूपमा रासायनिक मल प्राप्त गर्ने वातावरण निर्माण गर्न पहल गरिने उनको भनाइ थियो।
वडा सदस्य बलिस्टर पटेलले संवाद कार्यक्रममा उठेका स्थानीय समस्याको समाधानका लागि वडा कार्यालयदेखि नगरपालिका तहसम्म आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमले स्थानीय समस्या पहिचानसँगै सम्बन्धित निकायसँग समन्वय गरी समाधानको बाटो खोज्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।
कार्यक्रम सम्पन्न भएको जानकारी सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिक्की कुशवाहाले दिएका हुन्।

शेयर गर्नुहोस